काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अपी पावर कम्पनी लिमिटेड आक्रामकरूपमा ऊर्जामा लगानी बढाइरहेको छ। हाल कम्पनीले जलविद्युत र सोलार परियोजना निर्माण गरिरहेको छ।
अपी पावरले सहायक कम्पनीहरूमार्फत दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ। दार्चुला पावर लिमिटेडमार्फत २८.३ मेगावाटको मध्य चमेलिया र दिव्यज्योति हाइड्रोपावर लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी आयोजना बनाइरहेको छ।
अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवद्र्धन गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना एक्वायर (प्राप्ति) गरिसकेको छ। आयोजना लमजुङ जिल्लामा पर्छ। यस्तै पर्साको परवानीपुरमा आठ मेगावाट क्षमताको परवानीपुर सोलार परियोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
निर्माणाधीन तीन आयोजनाको जडित क्षमता ८६.३ मेगावाट छ। अपीले अहिलेसम्म जलविद्युत र सौर्य ऊर्जा गरी आधा दर्जन आयोजना सम्पन्न गरी ६२.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। तीन आयोजना सम्पन्न भएपछि अपीको जडित क्षमता बढेर १४८ मेगावाट पुग्नेछ।
निर्माणाधीन सोलार परियोजनाको लागत ५३ करोड ४० लाख रुपैयाँ छ। प्रति मेगावाट लागत छ करोड ७० लाख रुपैयाँ रहेको अपी पावरले जनाएको छ। थप एक अर्ब ६० करोड रुपैयाँ लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
अपी पावर जलविद्युतबाट रियल इस्टेटमा, सवा अर्बमा झम्सिखेलमा १० तले अपार्टमेन्ट बनाउँदै
अपीले ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाडका साथै ४ मेगावाटको चन्द्रपुर सोलार, एक एक मेगावाटको ढल्केबर र सिमरा सोलार परियोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ।
नाफा ३७ प्रतिशत बढ्यो
आयोजना थपिएसँगै अपी पावरको खुदनाफा ३७ प्रतिशत बढेर गत पुससम्म ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले बिजुली बिक्री गरी ३१ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको थियो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अपीको खुदनाफा ११ करोड ४५ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। छ महिनामा अपीले नेपाल विद्युत प्राधिकरणलाई ९५ करोड ९२ लाख रुपैयाँबराबरको बिजुली बेचेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी छ अर्ब सात करोड रुपैयाँ छ।
जलविद्युतमा लगानी गरिरहेको अपी पावर कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत रियल इस्टेट व्यवसायमा आफ्नो लगानी विविधिकरण गरेको छ। सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले हाल ललितपुरको झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाइरहेको छ।
अपी इन्फ्रा फेज वान नाम दिइएको अपार्टमेन्टको अनुमानित लागत एक अर्ब २७ करोड ७० लाख रुपैयाँ रहेको छ। अपार्टमेन्टमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
अपार्टमेन्ट बनाउन आवश्यक वित्तीय व्यवस्थापन भइसकेको छ। हालसम्म ५३ प्रतिशत वित्तीय प्रगति भएको अपी इन्फ्राले जनाएको छ।
यस्तै भौतिक प्रगति पनि ५३ प्रतिशत हारहारीमा रहेको कम्पनीले जनाएको छ। अपार्टमेन्ट आगामी सन् २०२७ को मध्य जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।


