नयाँ दिल्ली: मदिरा घोटाला प्रकरणमा राऊज एभिन्यू अदालतले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियालाई सीबीआई मुद्दामा सफाइ दिएको छ। अदालतले केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई) द्वारा दायर गरिएको मुद्दामा फैसला सुनाउँदै दुवै नेतासहित यस प्रकरणका सबै २३ अभियुक्तहरूलाई आरोपमुक्त गरेको हो।
‘लाइभ ल’ का अनुसार, विशेष न्यायाधीश जितेन्द्र सिंहले फैसला सुनाउँदै सीबीआईको अनुसन्धान प्रक्रियामाथि कडा टिप्पणी गरे। हजारौँ पृष्ठको चार्जशिट (आरोपपत्र) मा उल्लेख गरिएका सामग्रीहरूले कुनै पनि साक्षीको बयानलाई समर्थन नगरेको अदालतको ठहर छ।
न्यायाधीशले चार्जशिटमा भ्रामक दाबी गरिएको स्पष्ट पारे। सिसोदियाविरुद्ध प्रथम दृष्टया मुद्दा स्थापित गर्न सीबीआई असफल भएको अदालतले जनाएको छ।
यसैगरी, केजरीवाललाई कुनै ठोस प्रमाणबिना नै मुद्दामा संलग्न गराइएको पनि अदालतले टिप्पणी गरेको छ।
अदालतको फैसलापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै केजरीवाल भावुक देखिए। उनले विगत केही वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले आफूहरूविरुद्ध निरन्तर आरोप लगाउँदै आएको उल्लेख गर्दै अदालतले सबै आरोप खारेज गरिदिएको बताए।
उनले भने, ‘हामीमाथि लगाइएका सबै आरोप अदालतले खारेज गरिदिएको छ। सबै अभियुक्तहरू आरोपमुक्त भएका छन्। मलाई भारतीय न्याय प्रणालीमाथि भरोसा थियो। सत्यको जीत भयो।’
२०८० चैतमा मदिरा घोटाला प्रकरणमा पक्राउ परेका उनलाई २०८१ भदौमा डेढ वर्षअघि भारतको सर्वोच्च अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। उनी थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गरिरहेका थिए।







