कुनै बेला नेपाली समाजमा गन्धर्वहरू हातमा सारङ्गी लिएर गाउँ-गाउँ डुल्थे, सुख-दुःखका कथा सुनाउँथे र समाजको ऐना बनेर गीत गाउँथे। त्यस्तै भारतीय समुदायमा पनि राजस्थानका लांगा/मंगणियार वा बंगालका बाउलहरूमा एउटा समानता छ– उनीहरू संगीतलाई मनोरञ्जन मात्र मान्दैनन्, यसलाई सूचना प्रवाह गर्ने, इतिहास जोगाउने र समाजलाई शिक्षा दिने गर्दथे। आजभोलि यो संस्कृति हराउँदो छ।
तर समय फेरिए पनि फिरन्ते गायकहरू भने आजको आधुनिक समयमा पनि छन्। जो हातमा गिटार बोकेर गाउँबेसी डुलिहिँड्छन्। शहरको सुविधाभन्दा समाजको संवेदना खोज्दै हिँड्ने त्यस्तै एक संगीतकर्मी हुन्– राहगीर।
राहगीरको अर्थ हुन्छ यात्री। उनको असली नाम सुनिल कुमार गुर्जर भए पनि युवापुस्तामाझ उनी राहगीरका नामले चिनिन्छन्। भारतमा युवापुस्तामाझ उनी जति लोकप्रिय छन्, त्यति नै नेपाली तरुणहरूको मनमा पनि बसेका छन्।
पुनेको सुविधायुक्त ‘आईटी’ जागिर र इन्जिनियरिङको डिग्रीलाई थन्काएर सडकको संगीत रोज्ने राहगीर आजका पुस्ताका लागि एक ‘आधुनिक गन्धर्व’ बनेका छन्। जो सुविधासम्पन्न आईटीको जागिर र इन्जिनियरको डिग्री थन्काएर सडक बजार डुलिहिँड्छन्।
आफूलाई गायक कम लेखक ज्यादा मान्ने उनको कविता किताव पनि प्रकाशित छ–कैसा कुत्ता है ये?

उनले कलेज पढ्दादेखि नै कविता लेख्न थालेका थिए। नयाँ पुस्ताका धेरै कविहरूको भन्दा फरक, उनका कविताहरू बालविवाह, लैङ्गिक विभेद र युद्धजस्ता गम्भीर मुद्दाहरूमा केन्द्रित हुन्छन्। प्रेमको विषय त उनलाई धेरैले मन पराउने कारण नै भैगयो।
राजस्थानको सानो सिकर गाउँमा जन्मिएका राहगीर गाउँकै पहिलो आईटी इन्जिनयर हुन्। उनले पुणेको एक ठूलो सफ्टवेयर कम्पनीमा जागिर खाए। तर उनको मन कम्प्युटरका कोर्डिङमा हैन, कविताका हरफहरूमा बढी आकर्षित भयो। त्यसैले उनी एसीवाल बिल्डिङको जागिर छाडेर सडकमा निस्किए, गिटार भिरेर गाउन थाले र संगीतप्रेमीको ढुकढुकीमा बसे।
उनी संगीतमा कुनै ठूलै आफर आएर ९–५ को आकर्षक तलब सुविधासहितको जागिर छाडेर संगीतमा जोडिएका हैनन्। उनको पहिलो प्रस्तुति कुनै विशाल चमकधार स्टेजमा थिएन। धेरैलाई पत्याउन मुस्किल पर्छ तर उनले पहिलो लाइभ प्रस्तुति एक वृद्धाश्रममा दिएका थिए। जीवनको अन्तिम प्रहर काटिरहेका वृद्धवृद्धालाई समाजको कथा संगीतमा बुनेर सुनाएका थिए।
फूलों की लासों में ताजकी चाहता है
आदमी चुटिया है, कुछ भी चाहता है
जिंदा है तो आसमान में उडने की जिद है
मर जाए तो सडने को जमीन चाहता है
आदमी चुतिया है
राहगीरको चर्चा त्यसपछि मात्रै चुलियो, जब सामाजिक सञ्जालमा उनले गाएको ‘आदमी चुतिया है’ गीत भाइरल भयो। साधारण स्टुडियोमा गिटारमा रेकर्ड गरेकोत त्यो गीत पछि टि सिरिजले ‘आदमी भुतिया है’ बनायो, चर्चित अभिनेता पंकज त्रिपाठी अभिनित सिनेमा ‘शेरदिल’मा बज्यो।
हिमाचल प्रदेशको एउटा बसपार्कमा बस कुर्दै गर्दा ३० मिनेटमा फुरेको त्यो गीतले उनलाई युवा पुस्तामाझ चर्चित बनायो। सन् २०२२ मा रेख्ता फाउन्डेशनद्वारा आयोजित उर्दू भाषाको वार्षिक साहित्यिक महोत्सव ‘जश्न-ए-रेख्ता’ को सातौँ संस्करणमा प्रस्तुति दिएपछि त उनको चर्चा चौतर्फी चुलिन थाल्यो।
यो भाइरल गीतपछि राहगीरले निकै चर्चा कमाए र पछि ‘क्या जयपुर क्या दिल्ली’, ‘मेरे गाउँ आओगे’, ‘आखिर तिली’, ‘एक कच्चा घडा हुँ मै’ जस्ता चर्चित गीतहरू दिए।
राहगीरको जीवनको सबैभन्दा रोचक पाटो उनको यात्रा हो। उनले भारतका १६ भन्दा बढी राज्यको भ्रमण गरेका छन्। उनीसँग न कुनै महँगो होटलको बुकिङ हुन्छ, न त कुनै निश्चित गन्तव्य। जहाँ रात पर्छ, त्यहीँ बास बस्छन्। ‘मलाई कहिल्यै टेन्ट टाँगेर बस्नु परेन, मानिसहरूले आफ्नै घरमा ठाउँ र खाना दिन्छन्,’ उनी कृतज्ञता प्रकट गर्छन्। अचम्मको कुरा त के छ भने, यो आधुनिक युगमा पनि उनी पैसाको पछि दौडिँदैनन्। सडकमा गीत गाउँछन्। त्यसैमा सन्तुष्ट हुन्छन्।
राहगीरको प्रस्तुति दिने शैली पनि उत्तिकै मौलिक छ। उनी गीतको बीच बीचमा कविताका लाइनहरू वाचन गर्छन्। यसले दर्शक र संगीतकारबीच एउटा भावनात्मक पुलको काम गर्छ। उनी आफूलाई गायकभन्दा पहिले कथावाचक मान्छन्। उनी भन्छन्, ‘मलाई प्रत्यक्ष स्रोताको अगाडि गाउनुमा जुन सन्तुष्टि मिल्छ, त्यो कुनै रेकर्डिङ स्टुडियोमा मिल्दैन।’
उनको यो भनाइलाई उनले रचना गर्ने गीतले पनि पुष्टि गर्छन्–
क्या लेके आकार बन्दे क्या लेके जायेगा
दो दिनकी जिन्दगी है दो दिनका मेला
राहगिरा मिला कबिर से
बोला सुन मेरे भाई
खडा हुँ ऐसे मोडपर
आगे कुआँ पिछे खाई
कहा था तुमने जिन्दगी दो दिनकि भाई रे
मुझे दर्द मे जिते हो गये दिन ढाई

उनी मानसिक स्वास्थ्यका कुरा गर्छन्। जिन्दगी कुरा गर्छन्। दौडधुपमा एकपटक रोकिएर जीवनबारे सोच्न सिकाउँछन्। दौडधूप, ठेलमठेल, असिनपसिन, घर, गाडी, बंगला, दौलतपछि दौडिरहेकाहरूलाई आफूलाई पात्र बनाएर सोध्छन्–
अभी पतझड नहीं आया, अभी से पत्ते झडगए,
भाई राहगीर, ये हम कौनसी गाडी पे चढ गए ।
अभी है बाप जिंदा, बेटे बंटवारे को लड गए,
भाई राहगीर, ये हम कौनसी गाडी पे चढगए ।
नयाँ कलाकारहरूलाई राहगीरको एउटै सन्देश छ, ‘अरूको देखासिकीमा आफ्नो मौलिकता नगुमाउनुहोस्। यदि तपाईंको काममा इमानदारी छ भने, ढिलो-चाँडो संसारले तपाईंलाई सुन्नेछ।’
गिटारका तारमा समाजका कथा बोकिहिँड्ने उनी आधुनिक समयका यात्री हुन्। उनको यात्रा हिउँदमा शान्त र अविरल बगिरहने नदीजस्तो छ। र, यो यात्रा कहिल्यै नरोकिने उनी बताउँछन्। किनकि उनका लागि संगीत एउटा यस्तो विश्वव्यापी भाषा हो, जसले सबै अवरोध तोडेर मानिसहरूलाई एकताबद्ध बनाउन सक्छ।

प्रकाशित: २०८२ फाल्गुण २० गते बुधबार ०३:५४