काठमाडौँ: प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो।
बेलुका चार बजेसम्म ४४ प्रतिशत मत खसेकोमा जम्मा कति मत खस्यो भन्ने यकिन तथ्यांक आइसकेको छैन।
दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन्।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो।
१४३ अस्थायी मतदानस्थल तय भएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो।




