काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चल्दा केही स्थानमा मात्रै अन्य दलहरूले अग्रता बनाउन सकेका छन्। हाल ५५ क्षेत्रको मतगणना चलिरहेकोमा ४४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ। काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भैसके पनि घोषणा हुन बाँकी छ।
जारी मतगणनामा नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २, नेपाल श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ स्थानमा अग्रता बनाएका छन्।
एमालेका तर्फबाट बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन्।
कांग्रेसबाट कैलाली १ मा जनकराज चौधरी, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र ललितपुर १ मा उदयशम्शेर राणा अगाडि छन्।
नेकपाबाट रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड र कालिकोटमा महेन्द्रबहादुर शाहीको अग्रता छ।
मोरङ १ मा श्रम संस्कृतिका शान्ति पाख्रिन र जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।


