काठमाडौँ: नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुआत गरेको छ। यहाँ योगेश गौचन थकाली ३ हजार ९९२ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे।
यता देशभर अधिकांश स्थानमा अग्रता कायम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो सिट सुनिश्चित भैसकेको छ। अन्तिम केही मत गणना गर्न बाँकी रहँदा ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की जितनजिक पुगेकी हुन्। उनले ७ हजार १३५ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले एक हजार १७३ मत प्राप्त गरेका छन्।
यस्तै विराजभक्त श्रेष्ठको पनि जित पक्का भैसकेको छ। काठमाडौँ ८ बाट केही मत गणना गर्न बाँकी रहँदा विराजभक्त श्रेष्ठको जित निश्चित भएको हो। उनले १० हजार ११२ मत प्राप्त गर्दा सुमन सायमीले ६ हजार १७९ मत प्राप्त गरेका छन्।


