काठमाडौँ: २०४८ यताका हरेक संसदीय निर्वाचनमा झापा ५ बाट उम्मेदवार बन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पराजय निश्चित भएको छ।
चार पटक प्रधानमन्त्री भैसकेका ओली यसपटक आठौँपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए। करिब ३४ हजार मत गणना गर्न बाँकी रहँदै ओलीले हार्ने निश्चित भएको हो। संसदीय निर्वाचनमा यो उनको दोस्रो पराजय हो। यसअघि २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए।
ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको जित निश्चित भएको हो। ओली र बालेनबीचको मतान्तर ३८ हजार ६५ मतको रहेको छ। यहाँ कुल १ लाख ६ हजार मत खसेको थियो।
पछिल्लो विवरणअनुसार ५२ हजार ९६ मत ल्याएका छन् ओलीले १४ हजार ३१ भोट प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार मन्धर चिमरिया १ हजार ४१७ मत र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रञ्जित तामाङले १ हजार १७६ मत पाएका छन्।
देशभर जारी मतगणनाको हालसम्मको विवरण हेर्दा रास्वपाले करिब दुई तिहाई मत ल्याउने निश्चित जस्तै देखिएको छ। हालसम्म ४१ क्षेत्र जितिसकेको रास्वपाको ७८ सिटमा अग्रता छ। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकोमा अन्य कुनै बाधा नआएमा बालेनले चुनावपछि बन्ने सरकारको नेतृत्व गर्नेछन्।


