काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म १३३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ।
हालसम्म सार्वजनिक नतिजाअनुसार नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिएको छ। २०७९को प्रतिनिधिसभा निर्वाचनको मुखमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलहरूलाई किनार लगाएको छ। अहिलेसम्म १३३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाम आएकोमा रास्वपाले सय पार सिट जितिसकेको छ।
रास्वपाले प्रत्यक्षमै १०२ सिट जित्दा नेपाली कांग्रेसले १५ सिट मात्रै जितेको छ। यस्तै नेकपा एमालेले ७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले १/१ सिट जितेको छ। म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले पनि जित निकालेका एक स्वतन्त्र सांसद आउँदो सदनले पाएको छ।
बाँकी ३२ निर्वाचन क्षेत्रको गणना पनि अन्तिमतिर पुगेको छ। जहाँ रास्वपाले २३ ठाउँमा अग्रता कायम राखेको छ। एमाले ४, नेकपा र श्रम संस्कृति २ र कांग्रेस एक ठाउँमा अगाडि छ।
समानुपातिकतर्फ पनि रास्वपा धेरै अगाडि छ। हालसम्म गणना भएअनुसार ११ लाख ९५ हजार ५९० भोट रास्वपाले ल्याएको छ। यसैगरी कांग्रेसले ४ लाख ६४०, एमालेले ३ लाख २० हजार ६८५, नेकपाले १ लाख ५२ हजार ९५३, राप्रपाले ८७ हजार ५७६ र श्रम संस्कृति पार्टीले ४७ हजार २४२ मत प्राप्त गरेका छन्।
यसपटकको निर्वाचनबाट तराईँ/मधेश केन्द्रित दलहरू लगभग बढारिएका छन्। ती दलहरूले एकै सिट जितेका छैनन् भने हालसम्मको परिणामअनुसार जित्ने सम्भावना पनि देखिन्न।


