काठमाडौँ: नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट पराजित भएपछि यतिवेला सामाजिक सञ्जालमा एउटा अफवाह फैलिरहेको छ– निर्वाचनमा पराजित भएपछि शर्मा सञ्चालक रहेको नोबल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले स्थानीय तथा विपन्नका लागि उपचारमा दिँदै आएको छुट एवं नि:शुल्क सेवा हटायो।
तर उक्त हल्ला भ्रामक हो। सामाजिक सञ्जालमा फैलिएको उक्त खबर सत्य नभएको भन्दै शर्माले स्पष्ट पारेका छन्। उनले विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा त्यो अहिले पनि यथावत रहेको र आगामी दिनमा पनि रहने प्रष्ट पारेका छन्।
‘हाल बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले सञ्चालन गर्दै आएका संस्थाहरू नोबल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएका छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ,’ उनले भनेका छन्, ‘यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित वार्ड तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने हाम्रो प्रयास सधैं निरन्तर रहँदै आएको छ।’
उनले चुनावमा हार वा जीत हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नभएको र कहिल्यै नहुने पनि बताएका छन्।
उनले भनेका छन्, ‘समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु।’
बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार आउन उनले अनुरोध गरेका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीसँग पारजित भएका थिए। निर्वाचनमा कार्कीले ३६,९२४ मत ल्याएर विजय हासिल गरे भने शर्माले २४,३५४ मत प्राप्त गरे।


