काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध उपचार केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४०० जनाको मृत्यु भएको छ। २५० जना घाइते भएको अफगान तालिबान सरकारका एक प्रवक्ताले मंगलबार बताएका छन्। उक्त आक्रमण पाकिस्तानले गरेको आरोप अफगानिस्तानको छ। यद्यपि पाकिस्तानले आक्रमणको जिम्मा लिन अस्वीकार गरेको छ। उक्त आरोपलाई असत्य र भ्रामक भएको दावी पाकिस्तानको छ।
उसले सोमबार राति ‘सैन्य संरचना र आतंकवादी सहयोग संरचनामाथि सटीक आक्रमण गरिएको’ जनाएको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘आक्रमणपछि देखिएका विस्फोटहरूले त्यहाँ ठूलो मात्रामा हतियार भण्डारण भएको संकेत गर्छ’ भने।
यस घटनाले दुई छिमेकी मुलुकबीचको द्वन्द्वलाई तीव्र बनाएको छ।
यो हवाई आक्रमण चीनले दुवै पक्षलाई संयम अपनाउन र वार्तामा फर्कन आग्रह गरेको केही घण्टापछि भएको हो। चीनले तनाव कम गर्न आफू तयार रहेको पनि जनाएको थियो।
गत महिना सुरु भएको यो द्वन्द्व दुई देशबीच अहिलेसम्मकै सबैभन्दा गम्भीर मानिएको छ। २,६०० किलोमिटर लामो साझा सीमाना भएका यी मुलुकबीचको तनाव केही समय घटे पनि, इद उल–फित्र पर्व नजिकिँदै गर्दा पुनः चर्किएको हो।
यसैबीच, अमेरिका–इजरायलले इरानमाथि गरेका आक्रमण र त्यसको जवाफमा इरानको प्रतिकारले मध्यपूर्व क्षेत्रमा समेत अस्थिरता बढाएको छ।


