काठमाडौँ: गोर्खा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले सांसदका रूपमा तलब सुविधा नलिने घोषणा गरेका छन्। मंगलबारदेखि ललितपुरका होटल टुलिपमा सुरू भएको रास्वपाका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सञ्चारमाध्यमले सोधेको प्रश्नमा उनले तलव नलिने र सरकारी गाडी पनि नचढ्ने बताएका हुन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि जेनजी अगुवाका रूपमा ३७ वर्षीय गुरुङले त्यसवेला एक सार्वजनिक कार्यक्रममा नेताहरूलाई तलब दिन नहुने बताएका थिए। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘यो नेता/सेताको तलब छाड्दिऊँ ल, नराख्दिम् ल।अनि गाडीहरू लाइनै हुन्छ, त्यो ट्याँट्याँ र टुँ टुँ गर्छ। अब पाएन तिनीहरूले। कसैले पाएन। अब नेपाली जनताको राज हो।’
उनको उक्त अभिव्यक्तिलाई लक्षित गरी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘म त (तलब) खान्नँ नि। किन तलब खानु र? नखाने, किन तलब खानु जरूरी छ र? सक्षम छौँ।’
उनले गाडी आफ्नै भएकाले गाडी पनि सरकारी नचढ्ने बताएका हुन्।
गुरुङ हामी नेपाल अभियानका संयोजक हुन्।
