काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई नेतृत्व, जिम्मेवारी र समग्र विकासका विषयमा मार्गदर्शन दिएका छन्। उनले देश र संविधानको सम्मान गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
सभापतिले भने, ‘जति ठूलो शक्ति, त्यति नै ठूलो जिम्मेवारी हुन्छ। हामी सांसद भयौं भन्ने मात्रले ज्ञानी बन्न सकिँदैन, त्यसका लागि निरन्तर अध्ययन गर्नुपर्छ। नागरिकसँग नजिक भएर काम गर्नुपर्नेछ। यसपल्ट हामीले काँचुली फेर्ने वाचा गरेका छौं, त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ।’
उनले पार्टीभित्रका मन्त्री पदका लागि चर्चित उम्मेदवारहरूमाथि सन्तुलित दृष्टिकोण राख्दै भने, ‘मन्त्री बनाइदिनुस् भनेर मिडियामा नबोलौं। पार्टीले सबै योग्य र योग्यताविहीन साथीहरूलाई हेर्छ। हामीमाझ एक सय एक क्षमतावान साथी छन्, उनीमाथि पनि मिडियाको नजर पुग्नुपर्छ।’
सभापति लामिछानेले आगामी पाँच वर्ष चुनौतीपूर्ण हुने बताउँदै सांसदहरूलाई देश र संविधानको सम्मान गर्न निर्देशन दिएका छन्। उनले भने, ‘अबको ५ वर्ष सजिलो हुने छैन। हिजोका सांसदले जे गरे त्यो हामीले गर्ने छुट छैन। प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट आएका सबै साथी समान हुन्। अब सबैले सामूहिक खेलाडीका रुपमा काम गर्नुपर्छ।’
आर्थिक र विकास पक्षमा उनले ध्यानाकर्षण गराए, ‘देशमा कामधन्दा निरन्तर चल्नुपर्छ। उद्योगधन्दा नियमित चल्नुपर्छ। मुलुक सुरक्षित हातमा छ। जनताले दिएको विश्वासलाई सम्मान गर्दै सुशासन र उच्च मानक खडा गर्नुपर्छ।’
सभापतिले राष्ट्रिय समावेशिता र क्षेत्रीय विकासतर्फ ध्यान दिन पनि सांसदहरूलाई आग्रह गरेका थिए। ‘कर्णाली होस् वा मधेश, सुदूरपश्चिम होस् वा अन्य क्षेत्र, समग्र मुलुकको विकासका लागि लाग्नुपर्छ। यो चुनावका लागि मात्र होइन, अर्को पुस्ताका लागि हुनेगरी काम गर्नुपर्छ।’
कार्यक्रममा सांसदहरूलाई समृद्धि, सामाजिक न्याय, र देशको भविष्य लेख्ने जिम्मेवारीबारे पनि स्पष्ट दिशानिर्देश दिइएको थियो।


