काठमाडौँ: सरकार गठनको प्रक्रिया तीव्र बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठनको तयारी तीव्र पारेको छ। बिहीबार । सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहितका शीर्ष नेताबीच भएको बैठकले सरकार गठनका विषयमा सहमति जुटाएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे तय भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई शपथ खुवाउने छन्। ज्येष्ठ सदस्यका हैसियतले केसीले अन्य सदस्यहरूलाई शपथ खुवाउने छन्।
सांसदहरूको शपथपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने छ। सांसदको शपथ सम्पन्न भएपछि मात्रै प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढ्नेगरी कार्यतालिका मिलाइएको छ। चैत १३ गते प्रधानमन्त्री नियुक्त गर्ने र मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ निकट मत ल्याएको छ। दुईतिहाइका लागि १८४ सांसद आवश्यक पर्नेमा रास्वपा एक्लैले १८२ सिट जितेको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम रास्वपाले नयाँ सरकार बनाउने छ। ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ उक्त उपधारामा भनिएको छ। यसअघि संघीय लोकतान्त्रिक गणन्त्रमा गएयता नेपालमा धारा १ अनुसार सरकार बनेको छैन, पहिलोपटक उक्त व्यवस्थाअनुसार सरकार गठन हुन लागेको हो।
रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। शाह सरकार गठनका लागि मन्त्री छनोटलगायत आन्तरिक तयारीमा छन्।


