अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिका र इरानबीच राम्रो र फलदायी कुराकानी भएको र आफूले इरानी पावर प्लान्ट तथा ऊर्जा पूर्वाधारहरूमा हुने कुनै पनि सैन्य आक्रमण स्थगित गर्न सेनालाई आदेश दिने बताएका छन्।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन्, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि संयुक्त राज्य अमेरिका र इरानबीच विगत दुई दिनमा मध्यपूर्वमा रहेका हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।’
उनले अगाडि लेखेका छन्, ‘मैले जारी बैठक र छलफलहरूको सफलताको आधारमा पाँच दिनका लागि इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरू विरुद्धका कुनै पनि र सबै सैन्य आक्रमणहरू स्थगित गर्न युद्ध विभागलाई निर्देशन दिएको छु।’
ट्रम्पले शनिबार तेहरानलाई हर्मुज जलसन्धि सबै जहाजका लागि खुला गर्न ४८ घण्टाको समय दिँदै अन्यथा अमेरिकाले इरानका पावर प्लान्टहरू ‘सफाया’ गरिदिने चेतावनी दिएका थिए।
बदलास्वरूप इरानले विश्वको लगभग एक-पाँच भाग तेल ओसारपसार हुने उक्त जलसन्धि पूर्ण रूपमा बन्द गरिदिने बताएको थियो। तेहरानले इजरायल र खाडी मुलुकका ऊर्जा संयन्त्रहरूमा पनि आक्रमण गर्ने चेतावनी दिएको थियो।
सोमबार, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले प्रतिक्रिया दिँदै यदि वासिङ्टनले आफ्नो धम्की कार्यान्वयन गरेमा इरानले अमेरिकी आधार शिविरहरूलाई बिजुली आपूर्ति गर्ने सबै क्षेत्रका पावर प्लान्टहरूका साथै अमेरिकीहरूको शेयर रहेका आर्थिक, औद्योगिक र ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने बताएको छ।
यसका साथै, सरकारी सञ्चारमाध्यमका अनुसार देशको रक्षा परिषद्ले इरानको दक्षिणी तट वा टापुहरूमा हुने कुनै पनि आक्रमणको प्रतिवादमा समुद्री बम बिछ्याइने चेतावनी दिएको छ, जसले खाडीको ढुवानी मार्गलाई पूर्ण रूपमा ठप्प पार्नेछ।


