काठमाडौँ: सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ गर्न गौरीबहादुर कार्की संयोजक रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकबाटै सरकारको प्रवक्ताको जिम्मेवारी पाएका शिक्षामन्त्री सस्मित पोखरेले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने निर्णय गरेको जानकारी दिए। आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितलाई फौजदारी अभियोग लगाउन सुझाव दिएको छ।
प्रतिवेदनमा तत्कालिन नेपाल प्रहरीका आइजीपी चन्द्रकुवेर खापुङसमेत सुरक्षाकर्मीहरूलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ। सरकारले सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेस गरेबमोजिम गर्ने निर्णय भएको छ।


