काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौँले ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई थुनामा राखेर अनुसन्धानका लागि अनुमति दिएको हो।
ओली र लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरिएको थियो। आइतबार लेखकलाई प्रत्यक्ष र स्वास्थ्य समस्यका कारण ओलीलाई भर्चुअल रूपमा अदालतमा उपस्थित गराइएको हो। सुनुवाईपछि न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।
हाल पूर्वप्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएकाले अस्पतालमा छन्। उनको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत अदालतले आदेश दिएको छ।
ओली र लेखकविरुद्ध पुरुषोत्तम खतिवडासहितले जाहेरी दिएका थिए।
उनीहरूमाथि भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ। आन्दोलनमा भएका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएकोमा आयोगले उनीहरूमाथि फौजदारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।


