काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गरेका छन्। निर्वाचनपछि जारी प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन्।
संयुक्त राष्ट्र संघलगायतका निकायमा गएर हाम्रो सिमाना यकिन गरेर सीमामा सेना खटाउनुपर्ने पनि उनले बताएका छन्।
यस्तै जनताले प्रत्यक्ष चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्ने नीति बनाउन पनि उनले माग गरेका छन्।
जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर विद्यार्थीलाई स्कुल ड्रेसमा आउन बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धाधुन्ध गोली चलाएर दमन गर्ने तथा २४ गतेको विध्वंसमा संलग्नलाई कारबाही गर्न उच्चस्तरीय आयोग गठन गर्न उनले माग गरेका छन्।
सम्पत्ति छानबिन तथा शुद्धिकरण अभियान सबैभन्दा पहिले अहिले मन्त्रिपरिषद्मा रहेका मन्त्री र आफूसहित सबै सांसदको छानबिन गर्नुपर्ने उनले बताए। नियमकानुन बनाउँदा आफूबाट लागू हुनेगरी बनाउनुपर्ने उनको भनाइ छ।


