काठमाडौँ: सरकार अर्थात् प्रधानमन्त्रीका कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधीवक्ता पदमा डा नारायण कँडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कँडेललाई महान्यायाधीवक्ता बनाउने निर्णय गरेकको हो।
बागलुङका कँडेल राष्ट्रिय स्वतन्त्र निकट कानुन व्यवसायी हुन्। उनले यसअघि सभापति रवि लामिछानेको मुद्दामा पनि बहस गर्दै आएका थिए।
बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका उनको करियरको सुरुआत पत्रकारिताबाट भएको हो। उनीसँग रेडियो नेपाल, राजधानी दैनिक, वाणी सम्पादकलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ। २०६० सालदेखि उनी पत्रकारिता छाडेर पूर्णकालिन कानुन व्यवसायीका रूपमा सक्रिय भएका थिए।
महान्यायाधीवक्ताको कार्यालयले सरकारका तर्फबाट भएका निर्णयहरूको कानुनी बचाउ गर्दछ।


