काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। २०८१ चैत २३ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि भट्ट गभर्नर बन्ने चर्चा थियो। उनले गभर्नर बन्न पदबाट कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनालाई राजीनामा पनि दिएका थिए।
तर तिम्सिनाले उनको राजीनामा अस्वीकृत गरेकी थिइन्। तिम्सिना गभर्नर बन्न खोजेर उनको राजीनामा अस्वीकृत गरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएर प्राडा विश्वनाथ पौडेल गभर्नर भएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारमा दुई दलबीचको राजनीतिक तनावका कारण उनी गभर्नर बन्नबाट रोकिएका थिए। अन्ततस् गत जेठ ६ गते तत्कालिन सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको थियो। पौडेलले भट्टलाई गभर्नरन कार्यालयमा ल्याएका थिए।
गत कात्तिक ६ गतेदेखि भट्ट कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्थाअनुसार राष्ट्र बैंकबाट बाहिरिएका थिए।
भट्ट २०६७ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए। २०७५ सालमा उनी कार्यकारी निर्देशक बनेका थिए।


