काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध अब थप म्याद नथपिने भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई बिहीबार बोलाएको बेला उपस्थित हुनेगरी हाजिरी जमानीमा छोड्न लागेको हो।
गत चैत २३ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले ओली र लेखकविरुद्ध थप म्याद नथप्न आदेश जारी गरेको थियो। अनुसन्धानका लागि हिरासतमा राख्नु गैरकानुनी नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट खारेज भए पनि म्याद थप भएको अवधिभित्र अनुसन्धान सक्न अन्यथा थुनामुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो।
गत भदौ २३ भएको जेनजी आन्दोलनका क्रममा दमन गरी विद्यार्थीको हत्या गरेको आरोपमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। उक्त प्रतिवेदनको सिफारिसका आधारमा गत चैत १४ गते बिहान ओली र लेखकलाई पक्राउ गरिएको थियो।


