इरान र इजरायलबीच दुई हप्ताका लागि युद्धविरामको सहमति भएलगत्तै इजरायली सेनाले लेबनानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। बुधबार गरिएको यस आक्रमणमा परेर एकैदिन २५० भन्दा बढी मानिसको ज्यान गएको छ। १२०० बढी घाइते भएका छन्। इरानसँगको युद्ध रोकिने आशमा रहेका मानिसहरू लेबनानमा भएको यो भीषण आक्रमणपछि पुनः त्रसित बनेका छन्।
इजरायलले बेरुत, दक्षिणी लेबनान र बेका भ्यालीका करिब १०० स्थानमा १० मिनेटभित्रै भीषण बमबारी गरेको थियो। इजरायली सेनाका अनुसार यी आक्रमणहरू हिजबुल्लाहका सैन्य मुख्यालय र कमाण्ड सेन्टरहरू लक्षित थिए। तर, स्थानीय सहायताकर्मीहरूले भने कुनै चेतावनी विना गैर–सैनिक क्षेत्रमा बम खसालिएको र यसले ठूलो मानवीय क्षति पुर्याएको बताएका छन्। लेबनानमा पछिल्लो ५ हप्ताको युद्धमा १५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धविराममा लेबनान समावेश नरहेको प्रष्ट पारेका छन्। ट्रम्पले ‘हिजबुल्लाहका कारण’ लेबनानलाई यसमा नराखिएको बताएका छन्। यता, इरानको संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले भने इजरायली आक्रमणले वार्ताको ढाँचा उल्लंघन गरेको आरोप लगाएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि दिगो शान्तिका लागि लेबनानमा पनि युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मिडियामार्फत इरानलाई कडा चेतावनी दिएका छन्। उनले इरानलाई वास्तविक सम्झौता पूर्ण रूपमा पालना गर्न भनेका छन्। ट्रम्पका अनुसार यो सम्झौताका दुई मुख्य सर्त छन्: इरानले परमाणु हतियार बनाउन नपाउने र हर्मुज जलसन्धि सुरक्षित एवं खुला हुनुपर्ने।
ट्रम्पले चेतावनी दिँदै लेखेका छन्, ‘यदि कुनै कारणले सम्झौता पालना भएन भने, यसअघि कहिल्यै नदेखिएको स्तरको भीषण आक्रमण सुरु हुनेछ। हाम्रा सेनाहरू इरान वरिपरि तैनाथ छन् र उनीहरू अर्को विजयको प्रतीक्षामा छन्।’
यता इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।
युद्धविरामको खबरसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको थियो। बुधबार सुरुमा ब्रेन्ट क्रुडको मूल्य १५ प्रतिशतले घटेर ९२ डलर प्रतिब्यारेल झरेको थियो। तर, लेबनानमा इजरायली आक्रमण जारी रहेपछि र सम्झौतामा दरार देखिन थालेपछि बिहीबार बिहानैदेखि मूल्य फेरि बढ्न थालेको छ। हाल ब्रेन्ट क्रुडको मूल्य ९६.७० डलर प्रतिब्यारेल पुगेको छ।
युद्धविरामका लागि अमेरिका र इरानका आ–आफ्नै १० बुँदे योजनाहरू सार्वजनिक भएका छन्, जसमा धेरै कुरा बाझिएका छन्। इरानले इराक, यमन र लेबनानमा पनि युद्ध रोकिनुपर्ने र प्रतिबन्धहरू पूर्ण रूपमा हट्नुपर्ने माग राखेको छ। तर, अमेरिकाले भने हर्मुज जलसन्धिको सुरक्षा र परमाणु निशस्त्रीकरणलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ। लेबनानमा भइरहेको आक्रमणले यो अस्थायी युद्धविराम कति समय टिक्छ भन्नेमा ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।


