काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि थुनामा रहेका विवादास्पद बिचौलिया दीपक भट्टलगायतसँग अस्वभाविक साझेदारी गरेर अकुत सम्पत्ति कमाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत् आफूले पदबाट राजीनामा दिएको जानकारी गुरुङले दिएका हुन्। उनी गत चैत १३ गते वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि गृहमन्त्री नियुक्त भएका थिए। विवादमा मुछिएपछि उनले पदवहाली गरेको २६ दिनमै राजीनामा दिएका हुन्।
वर्तमान सरकारमा यसअघि श्रममन्त्री दीपककुमार शाह विवादमा तानिएपछि १३ दिनमै राजीनामा गरेका थिए।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ,’ उनले भने, ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’
पदमा रहेर स्वार्थको द्वन्द्व नदेखिएको भनेर आफूले नैतिक जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएको भन्दै उनले आफूमाथि निष्पक्ष छानबिन गर्न आग्रह पनि गरेका छन्।
उनले लेखेका छन्–
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.
प्रकाशित: २०८३ बैशाख ९ गते बुधबार ०२:३८