काठमाडौँ: साढे ७ वर्षअघि काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्नेगरी तत्कालिन सरकारले गरेको निर्णय उल्टिएको छ।
तत्कालिन अवस्थामा २०७५ साल भदौ १ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र सार्ने निर्णय गरेको थियो। प्रतिष्ठान रहेको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्नेगरी निर्णय भएकोमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्टाएको हो।
बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयमा हस्तान्तरण गर्ने पुरानो निर्णय खारेज गर्दै सो जग्गा पुनः प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्रि सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा ११४ रोपनी ३ आना राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्नेगरी भएको निर्णयको सट्टामा त्यो जग्गा पूर्ववत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने।’


