काठमाडौँ: सरकारले आह्वान भैसकेको संघीय संसद्का दुवै सदनको बैठक स्थगित गरेर दुईवटा अध्यादेश ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। जसअनुसार मंगलबार दुईवटै अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।
गएको बुधबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएकोमा आह्वान गरिएको भोलिपल्टै संसद् बैठक स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए।
तर बिहीबार अधिवेशन रोक्न सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठायो। मन्त्रिपरिषद्ले अधिवेशन रोक्न पठाएपछि राष्ट्रपतिले सदन अधिवेशन स्थगित गरेका थिए।
आह्वान भैसकेको अधिवेशन स्थगित गरेर सरकारले अध्यादेशको बाटो लिएको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्।
यद्यपि, सरकारले भने सदन अधिवेशन स्थगित गर्दा अध्यादेश ल्याउने कुनै योजना नभएको जानकारी दिएका थिए। मन्त्रिपरिषद बैठकका निर्णयहरूको जानकारी दिन सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नमा उनले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको दाबी गर्दै अध्यादेश ल्याउने योजना नभएको बताएका थिए।
सञ्चारकर्मीले अध्यादेश ल्याउने तयारी हो? भनी सोधेको प्रश्नमा उनले भनेका थिए, ‘अहिले हाम्रो योजना भनेको विधेयकको रूपमा कानुन ल्याउने हो, त्यस्तो अहिलेसम्म कुनै छलफल भएको छैन।’
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ती अध्यादेशहरू अध्ययनमा रहेका बताएका छन्।


