काठमाडौँ: विपक्षी दलहरूले विरोध जनाइरहेकै वेला सरकारले थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।
सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’ जारी गर्नका लागि पठाएको राष्ट्रपति कार्यालयले स्रोतले जानकारी दिएको छ।
सरकारले वैशाख १४ गते दुई अध्यादेश ल्याई जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएको छ। संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश ल्याएको हो।
सरकार आह्वान भैसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेशको बाटोमा लागेको हो। अध्यादेश ल्याउने सरकारको कामको विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाउँदै तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन्।


