काठमाडौँ: नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बनमा परेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई निलम्बन गर्ने निर्णय गरेको हो।
जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले गत वैशाख ७ गते उनलाई स्पष्टीकरण सोधेको थियो। तामाङले कांग्रेस सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको छ, जसमध्ये १ अर्ब चुनावमा खर्च भई २ अर्ब बाँकी रहेको अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
तामाङले बुझाएको स्पष्टीकरण सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको भन्दै अनुशासन समितिले उनीविरुद्ध कारबाही अघि बढाएको हो। ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।
यस्तै समितिको बैठकले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व कावा सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।


