काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।

राष्ट्रपति पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले सोमबार स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो।

सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन्।

यसअघि कायम ऐनमा ६ सदस्यीय परिषद्‍ हुने व्यवस्था रहेको छ। जसमा अध्यक्ष र चार सदस्यसहित पाँच संख्या गणपूरक रहने, सर्वसम्मतिका आधारमा निर्णय गर्नुपर्ने, पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था रहेको थियो।

अध्यादेशमा परिषद्को बैठकमा अध्यक्षसहित चार जना उपस्थित भए गणपूरक संख्या पुग्ने, त्यसको बहुमत अर्थात् तीन जनाले निर्णय गर्न सक्ने प्रावधान रहेको छ।