ढाका: बंगलादेश सरकारले नेपालबाट आयात गरिने विद्युतका लागि अनुदान दिने महत्वपूर्ण नीतिगत निर्णय गरेको छ। अर्थमन्त्री अमिर खसरु महमुद चौधरीको अध्यक्षतामा बिहीबार बसेको सरकारी खरिद सम्बन्धी मन्त्रिपरिषद् समितिको २०औँ बैठकले नेपालसँगको विद्युत व्यापारलाई प्राथमिकता दिँदै विभिन्न १० वटा ठूला प्रस्तावहरू स्वीकृत गरेको हो। नेपालसँगै भारतबाट आयात हुने बिजुलीमा पनि अनुदान दिने निर्णय बंगलादेश सरकारले गरेको छ।
बैठकले नेपाल र भारतबाट आयात गरिने बिजुलीमा अनुदान दिने प्रस्तावलाई नीतिगत स्वीकृति प्रदान गरेको हो। यस निर्णयले नेपालको जलविद्युत बंगलादेश निर्यात गर्ने प्रक्रियालाई थप सहज र आर्थिक रूपमा सुलभ बनाउने अपेक्षा गरिएको छ। यसका साथै बैठकले ‘बंगलादेश अफशोर मोडल उत्पादन साझेदारी सम्झौता २०२६’ को मस्यौदालाई पनि आंशिक स्वीकृति दिएको छ।
ऊर्जा आपूर्ति सुनिश्चित गर्न बंगलादेशले अन्तर्राष्ट्रिय स्पट मार्केटबाट तीन वटा एलएनजी (तरल प्राकृतिक ग्यास) कार्गो खरिद गर्ने निर्णय गरेको छ। जुन महिनामा प्राप्त हुने गरी भिटोल एसिया, बीपी सिङ्गापुर र गनभोर सिङ्गापुरबाट २१.८६ अर्ब टाका (बंगलादेशी मुद्रा) मा यी कार्गोहरू खरिद गरिनेछन्।
यस्तै, सरकारले सिराजगन्ज (२२५ मेगावाट) र भेरामारा (४१० मेगावाट) पावर प्लान्टका लागि विद्युत खरिद दर पनि परिमार्जन गरेको छ। जसअनुसार ग्यासमा आधारित बिजुलीको दर प्रति युनिट ४.६५ टाका र डिजेलमा आधारित दर प्रति युनिट करिब २०.६९ टाका कायम गरिएको छ।
बैठकले इन्डोनेसियाको पीटी ट्रिनिटी काह्या इनर्जीबाट २ करोड लिटर प्रशोधित सोयाबिन तेल खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिलिटर १४१.२८ टाकाका दरले कुल २.८३ अर्ब टाका यसका लागि खर्च गरिनेछ।


