काठमाडौँ: संवैधानिक परिषद्ले न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ। बिहीबार बेलुका बसेको परिषद् बैठकले शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो।
प्रधानन्यायाधीश नियुक्ति ज्येष्ठताको परम्परामा आधारित हुने गरेकोमा यसपटक नेपालको न्यायिक इतिहसमा त्यो परम्परा ढलेको छ। शर्मा रोलक्रमका हिसाबले चौथो स्थानमा रहेका न्यायाधीश हुन्। पहिलोमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल रहेकोमा दोस्रोमा कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेका थिए।
वरिष्ठतम् न्यायाधीशलाई सिफारिस नगरेर रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै रोलक्रमअनुसार प्रधानन्यायाधीशको लाइनमा रहेकी वरिष्ठतम न्यायाधीश मल्ल सर्वोच्चको नेतृत्व सम्हाल्नबाट वञ्चित भएकी छन्।
प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ। संसदीय सुनुवाइबाट शर्मा प्रधानन्यायाधीशमा अनुमोदन भएमा उनी पूरै कार्यकाल सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्। उनी २०९२ असारमा मात्रै ६५ वर्ष पुग्नेछन् भने ६ वर्षे कार्यकाल पूरा गर्दा उनी २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन्।
प्रधानन्यायाधीश सिफारिस भएका शर्माको २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा भएको हो। उनले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन्। उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गरेका छन्।
उनीसँग १९९५ मा अधिवक्ताको रूपमा भर्ना भएर कानुनका विभिन्न क्षेत्रमा अभ्यास गरेको अनुभव छन्। उनले धेरै कम्पनी र संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा काम गरेका छन्। १० जुन २०१३ देखि १२ डिसेम्बर २०१५ सम्म बुटवल र पाटनमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको रूपमा काम गरेका उनले १९ अप्रिल २०१९ (२०७६ वैशाख ६) देखि सर्वोच्च अदालतको न्यायाधीशको कार्यभार सम्हालेका हुन्।


