काठमाडौँ: आर्ट घरले आफ्नो तेस्रो म्युजिकल सर्ट फिल्म ‘झ्याल: द विन्डो बिटविन अज’ सार्वजनिक गरेको छ। यसअघि आर्टघरले ‘कोठा’ र ‘समय र उमेर’ जस्ता म्युजिकल सर्ट फिल्म सार्वजनिक गरिसकेको छ।
कोभिड–१९ लकडाउनको अनिश्चितता र एक्लोपनाको पृष्ठभूमिमा बनेको ‘झ्याल’ दुई अपरिचित छिमेकीबीच झ्यालमार्फत विकसित हुने मौन सम्बन्धको कथामा आधारित छ। फिल्ममा ३८ वर्षीया एक्लिएकी स्कुल शिक्षिका ऋतु र संघर्षरत २२ वर्षीय थिएटर कलाकार मौसमबीच बिस्तारै विकसित हुने आत्मीयता, आशा र मानवीय सम्बन्धलाई चित्रण गरिएको छ।
यस म्युजिकल सर्ट फिल्मको कथा, पटकथा तथा निर्देशन भीष्म जोशीले गरेका हुन्। फिल्ममा उषा रजक, अभिषेक फुयाल र स्वयं निर्देशक जोशीको अभिनय रहेको छ।
फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने स्क्रिप्ट इन्जिनियरको रूपमा गौरव श्रेष्ठले काम गरेका छन्। सहलेखन विशाल राज रेग्मीको रहेको छ।
‘झ्याल’ लाई म्युजिकल स्वरूप दिइएको छ। शब्द निर्देशक जोशीले नै लेखेका हुन्। समीक्षा दाहाल र प्रताप दासको गायन रहेको गीतको संगीत सुविन सेन्चुरीले गरेका छन्।
निर्देशक जोशीका अनुसार फिल्मले लकडाउनको समयलाई केवल त्रासदीका रूपमा होइन, मानवीय सम्बन्ध पुनः खोजिने एउटा संवेदनशील क्षणका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।


