काठमाडौँ: पूर्व सञ्चारमन्त्री तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले स्मार्ट टेलिकममाको ३० अर्ब घोटाला भएको भन्दै आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाए।
स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै उनले उक्त समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको बताए।
उक्त विषय संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सर्ना व्यक्त गर्न चाहेको उनको भनाइ थियो। स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा मिटिङ नगरेको तथा एउटा फाइल मात्रै तलमाथि गरेको सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि विदा लिन तयार रहेको उनको भनाइ थियो।
उनले भने–
म आज मात्रै स्विजरल्याण्ड भ्रमण सकेर काठमाडौं आएको छु। स्विजरल्याण्डमा सेन्ट ग्यालेन सिम्पोजियममा म स्पिकरको रुपमा र प्यानलिष्टको रुपमा गएको थिएँ। र जसको पूर्व जानकारी सम्माननीय सभामुखज्यूलाई लिखित रुपमा दिएर र मेरो पार्टीका श्रद्धेय सभापति रवि लामिछानेज्यूलाई लिखित रुपमा जानकारी गराएर र परराष्ट्र मन्त्रीज्यूलाई पनि जानकारी गराएर म गएको थिएँ।
र म गएको भोलिपल्टै वैशाख २३ गते सम्माननीय सभामुख महोदय, एउटा ‘राजधानी दैनिक’ नामक पत्रिकाले ‘पूर्व सञ्चार मन्त्री स्विजरल्याण्ड सुटुक्क भागे, अनुसन्धानको घेरामा पर्ने डरले’ भनेर समाचार लेखेको रहेछ, त्यसप्रति मेरो गहिरो खेद र दु:ख व्यक्त गर्न चाहन्छु।
सम्माननीय सभामुख महोदय, यो स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी-ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान-सम्मान, प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद, सांसदको भूमिका र मेरो पार्टीप्रति पनि यसले अपमान गरेको मैले महसुस गरेको छु। र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सर्ना व्यक्त गर्न चाहन्छु।
म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले सम्माननीय सभामुख महोदय, एउटा मिटिङ, एउटा फाइल ल्याउने, एउटा फाइल अगाडि बढाउने, एउटा फाइल पारित गर्ने मन्त्रालयका अथवा सम्बद्ध कुनै पनि निकायसँग मैले एउटा मिटिङ मात्रै पनि गरेको रहेछ भने – स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैंका लागि बिदा लिन तयार हुन्छु।
तर प्रचार-प्रचार र झुटो एउटा लाञ्छना लगाउने हिसाबमा सस्तो र सी-ग्रेडको पत्रकारिता, डी-ग्रेडको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि कसैले यसरी चुनौती दिन्छ भने आज सम्मानित सदनमार्फत म त्यो पत्रिका, त्यो पत्रिकाका ओनरहरु, त्यसका सम्पादक र जो-जो सम्बद्ध छन्, उनीहरुलाई खुल्ला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर। प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्ने तिमीसँग हिम्मत छ? यो चुनौती दिन चाहन्छु सभामुख महोदय।
होइन भने यसरी राजनीतिक रुपमा एउटा उदाइरहेको व्यक्तिलाई, पार्टीलाई, संस्थालाई, संसदलाई यसरी अपमान गरेर अगाडि बढ्न पाइँदैन। म यो अनुरोध गर्न चाहन्छु र सम्पूर्ण मेरा शुभचिन्तकहरुलाई यो भ्रममा नपर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। र अन्त्यमा के भन्न चाहन्छु भनेदेखि यहाँ सञ्चार मन्त्री हुनुहुन्छ भने म सम्माननीय सभामुखज्यू मार्फत आग्रह गर्न चाहन्छु, कृपया प्रेस काउन्सिललाई सशक्त बनाउनुस्, अहिले नै सशक्त बनाउनुस्।


