काठमाडौँ: राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई बर्खास्त गर्ने नीति लिएको छ। सोमबार संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बाचन गरेका हुन्।
राजनीतिक दल वा गतिविधिमा संलग्न भएको पाइएमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र बर्खास्त गर्ने सम्मको कडा कानुनी व्यवस्था गरिने उनले पढेर सुनाए।
स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था गरिनेछ र कार्यसम्पादन मूल्यांकनलाई सूचकमा आधारित बनाइने र सार्वजनिक पदमा रहेका व्यक्तिहरूका लागि ‘कुलिङ अफ’ अवधिको व्यवस्था गरिने नीति सरकारको छ।
निजामती सेवामा योग्यतामा आधारित नियुक्ति, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्यांकन र नैतिक परीक्षणको संयन्त्र बनाइने तथा
कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई नकारात्मक सूचीमा राखिने एवं राम्रो गर्नेलाई प्रोत्साहन प्रणाली लागू गरिने नीति सरकारले लिएको छ।
