काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नेतृत्व चयनका लागि आगामी जेठ २९ गते निर्वाचन हुँदै छ। नेतृत्व चयनका लागि इप्पानमा चुनावी सरगर्मी बढेको छ।
यसैक्रममा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले आफ्नो प्यानल घोषणा गरेका छन्। लामाले औपचारिक कार्यक्रममार्फत ‘समृद्ध ऊर्जा क्षेत्रको लागि निर्णायक नेतृत्व’ भन्ने नारासहित ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै आफ्नो टिमको घोषणा गरेका हुन्।
घोषित प्यानलअनुसार उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र विक्रम विष्टलाई अघि सारिएको छ। महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त उमेदवार बन्ने भएका छन्।
त्यस्तै, सचिव पदका लागि विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उमेदवार बनाइएको छ। सदस्य पदमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्ण लामिछाने र प्रतिमा ज्ञवाली लगायतलाई समेटिएको छ।
घोषणासभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाले आगामी तीन वर्षमा गर्ने योजना सार्वजनिक गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको विद्युत् विकासलाई तीव्र बनाउन विशेष प्राथमिकता आवश्यक भएको बताएका छन्।
उनले अहिलेको सरकारले ऊर्जा क्षेत्रका धेरै विषयलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै विद्युत् व्यापार निजी क्षेत्रलाई दिन सरकार सकारात्मक रहेको बताए। उनले सहमतिमा नेतृत्व चयन गर्न सुझाए।
उनले सरकारले १८० दिनभित्र विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउने घोषणा गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
इप्पानका पूर्वअध्यक्ष सुवर्णदास श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि यो टिम सक्षम हुने विश्वास व्यक्त गर्दै शुभकामना दिए। ऊर्जा उद्यमी किरण मल्लले पनि संगठित टिम भए काम गर्न सहज हुने बताउँदै चुनावभन्दा सहमतिमै निर्विरोध नेतृत्व चयन हुन सके अझ राम्रो हुने धारणा राखे।
यस्तै, ग्रीन इनर्जी इन्टरप्रेनर्स नेपालका अध्यक्ष सूर्यप्रसाद अधिकारीले ऊर्जा क्षेत्रमा एक अर्कासँग सहकार्य हुनुपर्ने बताए।


