काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका मन्त्रालय, आयोग, विभाग तथा सरकारी निकायहरूलाई अनावश्यक रूपमा सवारी साधन र सामग्री खरिद नगर्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार परिपत्र जारी गर्दै कार्यालयमा भएका सामग्रीको उचित उपयोग गर्न र सार्वजनिक खर्च कटौती गर्न निर्देशन दिएको हो।
प्रधानमन्त्री कार्यालयको सुशासन, व्यवस्थापन तथा प्रशासन शाखाबाट जारी परिपत्रमा विभिन्न मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा निकायहरूमा प्रमुख नियुक्ति, पदस्थापन र सरुवासँगै कार्यकक्षमा गाडी, कुर्सी, टेबल, सोफा, कार्पेट, पर्दा, कम्प्युटर, मोबाइल र ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ।
परिपत्रमा यस्ता कार्यले सरकारी स्रोत–साधनको अनावश्यक दोहोरो प्रयोग हुने, सार्वजनिक खर्च बढ्ने र राज्यकोषमा थप आर्थिक भार पर्ने उल्लेख गरिएको छ। त्यसैले कार्यालय प्रमुखहरूलाई आवश्यकबाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा भएका सामग्रीको मर्मत, व्यवस्थापन तथा पुनःप्रयोग गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ।



