काठमाडौँ: उत्पादन कम भएपछि छिमेकी भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरेको छ।
यसअघि ‘प्रतिबन्धित’ वस्तुको श्रेणीमा रहेको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ। भारतले आन्तरिक बजारमा चिनीको पर्याप्त आपूर्ति कायम राख्न र मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको छ। सन् २०२३ सेप्टेम्बरमा कम वर्षाका कारण ऊखु उत्पादन घटेको भन्दै भारतले पहिलो पटक नेपालतर्फको चिनी निर्यात रोकेको थियो। अवस्था सामान्य भएपछि निर्यात खुलाएको थियो।
नेपाललगायत अन्य मुलुकहरूमा निर्यातमा प्रतिबन्ध लगाए पनि युरोपेली संघ (ईयू) र अमेरिकातर्फ तोकिएको कोटाअन्तर्गत हुने चिनी निर्यातमा प्रतिबन्ध लागू नहुने महानिर्देशनालयले जनाएको छ।
एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने अनुमानका आधारमा आन्तरिक मूल्य नियन्त्रण गर्न भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको बताइएको छ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। कतिपयले अभावका कारण मूल्य आकासिने र यसमा मारमा उपभोक्ता पर्ने चिन्ता व्यक्त गरेका छन्।
भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला?
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा असर नपर्ने उद्योगीहरूले बताएका छन्। नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले नेपालमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले भारतबाट आयात नभए पनि बजारमा असर नपर्ने बताउँछन्।
नेपाल क्लिक्ससँग व्यवसायी अग्रवालले भने, ‘उद्योगसँग मात्रै एक लाख टन बढी चिनी मौज्दात रहेको छ। यस्तै डिलरसँग पनि पर्याप्त मौज्दात रहेकाले भारतले प्रतिबन्ध लगाए पनि असर पर्दैन।’ उनका अनुसार नेपाललाई यसपालि पुग्ने चिनी मौज्दात रहेको छ।
ऊखु पेल्ने सिजनमा दुई लाख टन चिनी उत्पादन भएको उद्योगीले जानकारी दिएका छन्। सरकारी तथ्यांकअनुसार ७५ हजारदेखि ८० हजार टन आयात भइसकेको उद्योगीको भनाई छ।एसोसिएसनका अनुसार नेपालमा वार्षिक दुई लाख ८० हजार टन चिनी खपत हुने गरेको छ।
सरकारले चिनी आयात आयात शुल्क ३० प्रतिशतबाट घटाएर हाल १५ प्रतिशत कायम गरेको छ। उद्योगीहरूले चिनीको भन्सार शुल्क बढाउन माग गर्दै आएका छन्। सरकारले सहजीकरण गर्ने हो भने नेपाल आउँदो केही वर्षभित्र चिनीमा आत्मनिर्भर हुन सक्ने उद्योगीको भनाई छ।
यो वर्ष मात्र बर्दियामा दुई नयाँ चिनी उद्योग सञ्चालनमा आइसकेका छन्। नेपालमा झण्डै एक दर्जन चिनी उद्योग सञ्चालनमा छन्।
विश्वकै धेरै चिनी निर्यातकमध्ये भारतले यसअघि उद्योगहरूलाई १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिइसकेको छ। भारतीय व्यापारीहरूले त्यसमध्ये ८ लाख टन चिनी निर्यात सम्झौता गरिसकेका छन्। त्यसमध्ये पनि ६ लाख टन ढुवानी गरिसकिएको छ।


