काठमाडौँ: सरकारले काठमाडौं उपत्यकाको नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई पुनर्स्थापनका लागि प्रति परिवार २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासीलाई प्रतिपरिवार एकमुष्ठ २५ हजार र तीन महिनासम्म न्यूनतम १५ हजार रूपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले ५ सदस्यसम्म भएको परिवारलाई प्रतिमहिना १५ हजार र त्योभन्दा बढी परिवार भएमा थप प्रतिव्यक्ति २ हजारका दरले उपलब्ध गराउने जानकारी दिए।
तीन महिनाभित्र आफैँ व्यवस्थापन गर्नेगरी पुनर्स्थापना र ३ महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको हो।
सरकारले गत वैशाख १२ देखि २१ गतेसम्म काठमाडौँ नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १८ हजार जना विस्थापित भएका थिए।


