काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एन्ड यती होटेलमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ।
शपथग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष गणेश कार्की र निर्वाचन समितिका प्रमुखले प्रमाणपत्र प्रदान गरेका थिए।
इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा, महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन्। सचिव पदमा कृष्ण घिमिरे, कुवेर मणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजयमोहन भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन्।
शपथग्रहण समारोहमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले इप्पानलाई अझ सशक्त, प्रभावकारी र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


