काठमाडौं–नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारको कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व. इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको हो। अन्तरसम्बन्ध–२०८० नाम दिइएको उक्त प्रदर्शनी १२ असार सम्म चल्नेछ।
प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘नेपाल कलाको खानीजस्तो छ। त्यसमा पनि ललितकलाका असंख्य विधा छन्। ७ वटा विधाको प्रचार गर्ने गर्छौं।’ उनले भर्खरै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको पाएको स्मरण गरे।
अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले बम्बईबाट अध्ययन गरेर फर्किएपछि समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गरे। उनले भने, ‘त्यस समय राम्रो आर्ट ग्यालरी थिएन। शशिविक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नुहँुदैन। इन्द्रजीले बूढानीलकण्ठमा आर्ट टिचरको रूपमा काम गर्नुभयो। युवराज दीपेन्द्रलाई समेत पढाउनुभयो। त्यो अवस्था थियो त्यस समय। तर, अहिले धेरै कलाकार जन्मिसकेकामा खुसी लागेको छ।’
संगठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर शशि शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान एकढिक्का भएर आएको अग्रज कलाकार शशि शाहले बताए। नेपालको कला क्षेत्र स्किव–७१ बाटै संगठनात्म करूपमा जानुपर्छ जनाउँदै उनले नयाँ पुस्तालाई सचेतसमेत गराए।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको सिर्जना प्रदर्शनीले निरन्तरता दिने बताए। उनले भने, ‘हामीले अग्रज र दिवंगत कलाकारको प्रदर्शनीको सुरुआत गरेका छौँ। आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौं।’
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरूले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा व्यक्त गरे।प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरूले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको र विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको बताए।


