काठमाडौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सेयर लगानीकर्तामा अनुसन्धानको दायरामा पर्न सकिने त्रास रहेको हुन सक्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्री वाग्लेले हालै एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै आर्थिक विचलनसम्बन्धी मुद्दा दायर भएको उल्लेख गर्दै त्यसको केन्द्रमा पुँजीबजार, बीमा र स्टक बजारसँग सम्बन्धित विषय रहेको बताए। विगतदेखि जरा गाडेर बसेका आर्थिक अनियमिततालाई सरकारले कानुनी दायरामा ल्याउन थालेको उनको भनाइ थियो।
उनले अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा केही लगानीकर्तामा ‘म पनि अनुसन्धानमा तानिन्छु कि’ भन्ने मनोवैज्ञानिक त्रास देखिएको हुन सक्ने बताए।
‘गुड गभर्नेन्सलाई सरकारले निर्मम ढंगले अघि बढाइरहेको छ। विगत १०–१५ वर्षका आचरणगत र नीतिगत कमजोरीका कारण केही लगानीकर्ता अहिले पर्ख र हेरु को अवस्थामा देखिएका हुन सक्छन्,’ उनले भने।
यद्यपि कानुनअनुसार कारोबार गर्ने र पारदर्शी रूपमा लगानी गर्नेहरूलाई डराउनुपर्ने कुनै कारण नरहेको उनले स्पष्ट पारे। त्यस्ता लगानीकर्ता सरकारको सुशासन अभियानका साझेदार रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले शेयर बजारको दैनिक वा घण्टाघण्टाको उतारचढावलाई आधार बनाएर नीति निर्माण नगर्ने स्पष्ट गर्दै दीर्घकालीन आर्थिक सुधार र संरचनात्मक नीतिमा केन्द्रित रहेको बताए।
उनले बजेट कार्यान्वयनसँगै निजी क्षेत्रको आत्मविश्वास बढ्ने र लगानी तथा आर्थिक गतिविधि थप चलायमान हुने विश्वास पनि व्यक्त गरे।


