काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई नेतृत्वलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन्। उनले आफ्नै दलभित्र पनि प्रश्न गर्न छोड्न नहुने बताए।
आफूहरूले आफ्ना दलका नेताहरूलाई भगवान बनाएर र ‘बा’ बनाएर गल्ती गरिससकेको भन्दै यस्तो गल्ती नगर्न सुझाव दिएका हुन्। उनले भने, ‘गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लाशको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्थ्यो, सकेनौं। त्यसबाट पनि सिक्नुहोला।’
यस्तै उनले ३५ वर्षमा केही भएन भन्ने भाष्य पनि नबनाउन आग्रह गरेका छन्।
‘तपाईंहरू विगतलाई इन्कार गर्दै गर्दा, कृपया एकैपटक ३५ वर्षमा केही पनि भएन भनेर नभनिदिनुहोला। पञ्चायतका ३० वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगर्दिनुहोला। तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यहीँ मुनि करिब ५० जना मानिसहरूको लास गाडिएको छ २०१८ सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ। तपाईंले भोलि कार्यक्रम गर्ने ठाउँमा पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईंको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईंले पाउनुभएको छ। झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै सहिदहरूको रगतले लगाएको रातो थियो। त्यसलाई तपाईंले बिर्सन पाउनुहुन्न,’ उनले भने।
सम्बोधनको पूर्णपाठ
म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट र हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु। पार्टी गठन भएको करिब चार वर्षमै तपाईंहरूले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ, यो लोभलाग्दो छ। म यसको मुक्तकण्ठले प्रशंसा गर्दछु। सङ्गठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ, तपाईंहरू सबै बधाईको पात्र हुनुहुन्छ। तपाईंहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्छु।
यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईंहरूले निधो गरिसक्नुभयो भन्ने हामीले छापाहरूमा पढ्यौं। रविजीले फेरि सभापतिको रूपमा जिम्मेवारी लिने र बालेनजी वरिष्ठ नेताको रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यौं। तपाईंहरू दुवै जनालाई फेरि यसका निम्ति शुभकामना छ। तपाईंहरूले मिलेर सबै कुरा टुङ्ग्याउँदै हुनुहुन्छ, तपाईंहरूले हामीलाई अप्ठ्यारो पनि पार्ने हुनुभयो।
डेमोक्रेसी, रुल अफ ल, इन्क्लुजन, सोसल जस्टिस— यो केवल संविधानमा सजाउनका निम्ति राखिएका विषयहरू मात्र रहेनन्। नेपाली सोसाइटीको डीएनएमा यी सबै कुराहरू राम्रोसँग घोलिएका छन्। म विश्वास गर्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका यी आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउँछ मात्र होइन, मन, वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास व्यक्त गर्छु।
नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ, यसमा दुई मत छैन। इतिहासमा तीन-चार पटक नेपालका राजनीतिक दलहरूले यस्तै खालको जनमत प्राप्त गरे। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो। किन पर्यो? एउटा, जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो, त्यो राजनीतिक दलको नेताहरूको अहंकारको बीचमा टकराव भयो, व्यक्तिहरूको बीचमा टकराव भयो। जसको कारणले दुर्घटना भयो। अर्को, जनमत प्राप्त गरिसके पछाडि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो, तर त्यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन। त्यसले सत्ताको उन्मादमा हामीलाई चढायो, जसले गर्दा हामी अलोकतान्त्रिक व्यवहार गर्न थाल्यौं, जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो। म कामना गर्छु, राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्न नपरोस्।
तपाईंलाई लाग्न सक्छ कांग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन दिँदैछ? यसको दुइटा कारण छ। पहिलो कारण, इतिहासले हामीलाई यो पनि बताएको छ— जुन-जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन्, त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो तर त्यो पार्टी मात्र भएन। सँगै रहेका अरू पार्टीहरू पनि त्यसको शिकार बने। प्रणाली बन्यो, डेमोक्रेसी बन्यो, सबैभन्दा बढी नेपाली नागरिकहरू बने। हाम्रो अधिकार कुण्ठित भयो, हाम्रो वर्षौं खेर गयो, हाम्रो जेनेरेशन टु जेनेरेशन खेर गयो। यो असफलता अब नेपालले व्यहोर्नु हुँदैन। त्यसकारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढङ्गले अगाडि बढोस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैदेखि शुभकामना व्यक्त गर्दछु।
दोस्रो कारण, नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं, तपाईंहरूको अग्लाई देखेर लोभिन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं। हामी संसदमा प्रतिपक्ष छौं, तपाईंहरू सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनुपर्ने हो, औंला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौं। जहाँ थपडी बजाउनुपर्ने हो, त्यहाँ थपडी बजाउँछौं।
नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सम्माननीय प्रधानमन्त्री ज्यू आउनुभएन, मज्जाले औंला ठड्यायौं। तर याद गर्नुभयो? त्यही दिन राष्ट्रिय सभामा एकजना पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुहुन्न्थ्यो, अलमल थियो। यो त्यही नेपाली कांग्रेस हो जसले भन्यो— भर्खर आएको सरकारको नीति कार्यक्रम बिना व्यवधान पारित हुनुपर्छ। प्रतिनिधि सभामा औंला उठायौं, राष्ट्रिय सभामा थपडी बजाएर त्यही नीति र कार्यक्रम पारित गर्यौं। हामी प्रतिपक्ष हौं, जहाँ औंला उठाउनुपर्ने हो औंला उठाउँछौं। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भन्यो भने औंला उठाउँछौं। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको, गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको ‘बा’ होस्, सरकारको पक्षमा उभिन्छौं, दोहोरो थपडी बजाउँछौं।
देशको सिमाना मिचियो भनेर देशले सिमाना मिचियो भन्दै गर्दा औंला उठायौं। तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्नौं, हामी कसैको मिच्दा पनि मिच्दैनौं भनेर बोलेको दिन, जोडदारसँगले रास्वपा भन्दा पनि ठूलो स्वरले हामी थपडी बजाउँछौं।
मैले बाल कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको, आज म नेपाली कांग्रेस पार्टीको महामन्त्री छु। पार्टी कार्यालयमा जाँदै गर्दा कहिलेकाहीँ एक्लै सम्झन्छु— जननायक बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हाल्ने अवसर म जस्तो एउटा सामान्य नागरिकका लागि ठूलो कुरा हो। म गौरव गर्छु। पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु। तर गएको १०-१२ वर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका कतिपय कामहरूको सन्दर्भमा मेरो शिर निहुराउँछु पनि। म ग्लानि बोध पनि गर्छु र आत्मालोचित पनि हुन्छु। गएको १०-१२ वर्ष हामीले केवल एउटा कुरा हेर्यौं— निर्वाचन जित्नैपर्ने, त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने, सरकारमा पुगेर शक्ति चाहिने। शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्नाका लागि चाहिने। यो गल्ती भएकै हो र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यौं, भागबन्डाको राजनीतिमा लाग्यौं। सफा गर्ने कोसिस गर्यौं हामीले, सकेनौं। भदौ २३ र २४ गते एउटा ठूलो झट्का लाग्यो, थुप्रै युवाहरूले शहादत प्राप्त गरे। हामीले पनि महसुस गर्यौं— अब अबेर गरेर हुँदैन, सानो-सानो धक्का दिएर हुँदैन। आफ्नै पार्टीभित्र लड्यौं, विद्रोह गर्यौं। बाहिर सफा गर्नुभन्दा पहिला आफ्नो घर सफा गर्नुपर्छ भन्ने ठान्यौं।
सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ। किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ। तर हामी लड्यौं। म यही अनुभवको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु— भर्खर यात्रा सुरु भएको छ। सुशासन तपाईंहरूको मन्त्र छ, तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छोड्नुहुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, ‘बा’ बनाएर गल्ती गरिसक्यौं, तपाईंले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लाशको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्थ्यो, सकेनौं। त्यसबाट पनि सिक्नुहोला।
आज म चितवन आउँदै गर्दा मैले जताततै निलो भएको देखें। सहरभरि निलो छ, गजब छ। यो चितवनले डिजर्भ गर्छ। तपाईंहरू विगतलाई इन्कार गर्दै गर्दा, कृपया एकैपटक ३५ वर्षमा केही पनि भएन भनेर नभनिदिनुहोला। पञ्चायतका ३० वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगर्दिनुहोला। तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यहीँ मुनि करिब ५० जना मानिसहरूको लास गाडिएको छ २०१८ सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ। तपाईंले भोलि कार्यक्रम गर्ने ठाउँमा पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईंको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईंले पाउनुभएको छ। झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै सहिदहरूको रगतले लगाएको रातो थियो। त्यसलाई तपाईंले बिर्सन पाउनुहुन्न।
हाम्रो कोही पनि दुश्मन छैन। गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद हाम्रो दुश्मन हो, अक्षमता हाम्रो दुश्मन हो। यी सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी लड्दै गर्दा नेपाली कांग्रेस पार्टीलाई तपाईंले तपाईंको साथमा उभिएको पाउनुहुन्छ। जहाँ विधि मिचिन्छ, त्यहाँ तपाईंले कांग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ। किनकि तपाईंको धर्म तपाईंले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो। मलाई विश्वास छ, नेपालको राजनीति लामो समयको आरोह-अवरोह पछि एक ठाउँमा आएर थामिएको छ। यो संविधानलाई हामी जोगाउँछौं, व्यवस्थालाई हामी जोगाउँछौं र अवस्थालाई फेर्छौं भन्ने उद्घोष हामीले गर्यौं। राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट हृदयबाटै फेरि एकपटक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, रविजी, बालेनजी र सिंगो टिमलाई हृदयदेखि बधाई प्रकट गर्दै मेरो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।


