काठमाडौँ- तेस्रो नेपाल ‘फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी’ चैत १० देखि सुरु हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले चैत १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा एक्स्पो आयोजना गर्न लागेका हुन्। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन्।
देशभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ (फाइभ पी) सँग सरोकार राख्ने व्यापार व्यवसायलाई प्रोत्साहन गर्नका लागि एक्स्पो सञ्चालन गर्न लागिएको हो। व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने प्रदर्शनीमा उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन्। नेपाल मुद्रण उद्योग महासंघ सहआयोजक रहेको प्रदर्शनीमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ सहयोगी छ।
प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकहरू सहभागी हुनेछन्।


