काठमाडौँ: नेपाली सिनेमा बजारमा भारतीय फिल्मको प्रभाव र व्यापारिक दबदबा बढ्दो छ। विशेषगरी भारतसहित अन्य मुलुकमा पनि छोटो समयमै बलियो प्रभूत्व जमाइरहेको दक्षिण भारतीय (साउथ) फिल्म नेपालमा पनि दर्शकको रोजाइँमा पर्ने गरेका छन्। पछिल्लो वर्ष प्रदर्शनमा आएका १० ठूला बलिउड फिल्मले नेपालबाट अर्बौँ रुपैयाँ लिएर गएका छन्।
नेपाल चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पछिल्लो वर्ष प्रदर्शनमा आएका १० वटा भारतीय फिल्मले नेपाली बक्स अफिसमा ऐतिहासिक व्यापार गर्दै अर्बौंको कारोबार गरेका छन्।
यस सूचीको शीर्ष स्थानमा अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २: द रुल’ रहेको छ, जसले नेपाली बजारबाट अहिलेसम्मकै सर्वाधिक २४ करोड ४६ लाख २७ हजार ८९७ रुपैयाँ संकलन गरेर नयाँ कीर्तिमान कायम गरेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको एसएस राजामौलीको निर्देशनमा बनेको ‘बाहुबली: द कन्क्लुजन’ ले नेपालबाट २० करोड रुपैयाँको व्यापार गरेको थियो।
नेपाली हलहरूमा आक्रामक व्यापार गर्ने अर्को फिल्म ‘केजीएफ: च्याप्टर २’ हो, जसले १९ करोड ८० लाख १८ हजार ४९९ रुपैयाँ कमाउँदै आफूलाई तेस्रो स्थानमा सुरक्षित गरेको छ। दक्षिण भारतीय अर्को ब्लकबस्टर ‘आरआरआर’ ले १७ करोड १२ लाख ४२ हजार ६५० रुपैयाँ संकलन गर्दा बलिउड स्टार रणवीर कपुरको फिल्म ‘एनिमल’ ले १६ करोड ५६ लाख ३८ हजार ७८३ रुपैयाँ नेपालबाटै कमाउन सफल भएको छ।
बलिउडका बादशाह शाहरुख खानका फिल्महरू पनि नेपाली बजारमा निकै सफल देखिएका छन्। उनको फिल्म ‘जवान’ ले १४ करोड ३५ लाख ६९ हजार १९१ रुपैयाँको व्यापार गरेको छ भने ‘पठान’ ले १३ करोड ३३ लाख ७५ हजार ७०० रुपैयाँ संकलन गरेको छ। यी दुई फिल्मको बीचमा सातौँ स्थानमा ‘धुरन्धर: द रिभेन्ज’ देखिएको छ, जसले नेपाली बक्स अफिसमा १३ करोड ३९ लाख ८३ हजार ८१६ रुपैयाँको बलियो व्यापार गरेको थियो।
यो सूचीको अन्तिम दुई स्थानमा ‘कल्की २०९८ एडी’ र ‘कान्तारा अ लेजेन्ड: च्याप्टर वन’ रहेका छन्। प्रभास स्टारर कल्कीले १२ करोड ५८ लाख ८३ हजार ४९२ रुपैयाँ कमाउँदा कान्ताराको नयाँ श्रृंखलाले १२ करोड ३५ लाख ३३ हजार ५१५ रुपैयाँ संकलन गर्दै शीर्ष १० को सूचीमा आफूलाई उभ्याएका छन्।


