२०८३ कार्तिक १२ गते बुधबार

हर्मुज आक्रमणले चर्कियो तनाव,तेलको भाउ बढेर पुग्यो ब्यारेलको ७६ डलरमाथि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
hormuz_11

दुबई,एपी। स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ। पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्‍याउँदै मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ।

अमेरिकी सेनाले तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ। आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ। इरानले भने अमेरिकाको कदमको कडा विरोध गर्दै आफूले आवश्यक ठानेका सबै उपाय अपनाउने चेतावनी दिएको छ।

होर्मुज जलमार्गमा आपूर्तिमा अवरोध आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ। आयल प्राइस डटकमका अनुसार ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ७६.३८ डलर पुगेको छ। आक्रमण सुरु हुनुअघि कच्चा तेलको भाउ ब्यारेलको ७० डलर आसपासमा थियो।

अमेरिकी आक्रमणपछि अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइन तथा अमेरिकी सेनाका महत्त्वपूर्ण सैन्य आधार रहेका कुवेतमा मिसाइल चेतावनी जारी गरिएको थियो। दुवै देशलाई लक्षित गरी इरानबाट प्रहार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

यो घटनाक्रम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो। फेब्रुअरी २८ मा ८६ वर्षको उमेरमा युद्धको प्रारम्भिक चरणमै मारिएका खामेनीको अन्तिम संस्कार बिहीबार सम्पन्न हुने तालिका छ। अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएको थियो। तर पछिल्ला आक्रमणले त्यस्तो सम्भावनामा अनिश्चितता थपेको छ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र उसका सहयोगीमाथि आक्रामक टिप्पणी गर्दै इरान कुनै दबाबमा नझुक्ने बताए।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार र अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गा निशाना बनाइएका छन्। ती डुङ्गा हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई रोक्ने तथा दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको अमेरिकी दाबी छ।

सेन्ट्रल कमान्डले यो चरणको कारबाही सम्पन्न भएको जनाउँदै आवश्यक परे थप कदम चाल्न अमेरिका तयार रहेको स्पष्ट पारेको छ।

इरानले अमेरिकी आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन। सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी कारबाहीलाई आतंकवादी कार्यको संज्ञा दिँदै निर्णायक जवाफ दिने चेतावनी दिएको छ। साथै हर्मुज जलघाँटीको व्यवस्थापनमा कुनै विदेशी हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ।

गत महिनाको अन्त्यमा पनि जलघाँटीमा यस्तै प्रकारका आक्रमण र अमेरिकी जवाफी कारबाही भएका थिए। त्यतिबेला पनि बहराइन र कुवेत लक्षित आक्रमण भएको थियो। यसपटकको घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो शिखर सम्मेलनका लागि टर्कीमा रहेका बेला भएको हो।

यसैबीच अमेरिकाले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा तेल निर्यात गर्न दिइएको इजाजतपत्र रद्द गरेको छ। उक्त व्यवस्थाले इरानलाई वर्षौंपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा खुला रूपमा तेल बिक्री गर्ने अवसर दिएको थियो। इरानले यसअघि प्रतिबन्ध छल्दै चीनलाई सहुलियत मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको आरोप लाग्दै आएको छ।

जहाजमाथिको आक्रमणमा ओमानको तट नजिक यात्रा गरिरहेको एक तेल ट्यांकर ठोक्किएपछि आगलागी भएको बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रले जनाएको छ। इरानी सरकारी टेलिभिजनले चेतावनी बेवास्ता गरेपछि तरलीकृत प्राकृतिक ग्यास बोकेको अर्को जहाज आक्रमणमा परेको जनाएको भए पनि त्यसको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।

अन्य दुई जहाजमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको र ती जहाजले आफ्नो यात्रा जारी राखेको बेलायती समुद्री निकायले जनाएको छ।

युद्ध सुरु भएयता इरानले हर्मुज जलघाँटीमा कडा नियन्त्रण कायम राख्दै आएको छ। विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ। मङ्गलबार आक्रमणमा परेका जहाजहरूले इरानले तोकेको मार्गको सट्टा ओमानको तटीय मार्ग प्रयोग गरेका थिए।

तेहरानले हर्मुज हुँदै आफ्नो स्वीकृत मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै अन्य मार्ग प्रयोग गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी पटक–पटक दिँदै आएको छ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारी ट्यांकर अल रेकयात माथिको आक्रमणलाई अन्तर्राष्ट्रिय जलयात्रा र विश्व ऊर्जा सुरक्षामाथिको अस्वीकार्य हमला भन्दै त्यसका लागि इरान पूर्ण रूपमा जिम्मेवार रहेको बताए।

इरान र अमेरिका ६० दिनसम्म जहाजलाई कुनै शुल्कबिनै आवतजावत गर्न दिने अन्तरिम सहमतिमा पुगेका थिए। तर, इरानले जहाजको मार्ग आफैँले निर्धारण गर्ने र भविष्यमा त्यसका लागि शुल्क लिने प्रस्ताव अघि सारेपछि विवाद चर्किएको हो। अमेरिका र अधिकांश खाडी राष्ट्रहरूले भने हर्मुज जलघाँटी प्रयोग गरेबापत कुनै शुल्क तिर्न नसकिने स्पष्ट पार्दै आएका छन्।

 

प्रकाशित: २०८३ असार २४ गते बुधबार ११:१५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना