काठमाडौं–सन्राइज बैंकले विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी प्याड एटिएम मेसिन सहयोगस्वरुप उपलब्ध गराएको छ। हाल विद्यालयमा व्यवस्थित शौचालय र सेनिटरी प्याड व्यवस्था नहुँदा छात्राहरू विद्यालय जान हिचकिचाउने गरेको सन्दर्भमा बैंकले यस्तो सहयोग उपलब्ध गराएको हो।
बैंकले विभिन्न विद्यालयमा अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरेको हो। एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्रा तथा विद्यालयमा कार्यरत महिलालाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरण सिर्जना हुने बैंकले बताएको छ।
बैंकले बुधबार काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय लैनचौरमा एक थान प्याड एटिएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ। बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरे।
बैंकले ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरेको छ। यस्तै, मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगरलगायतका ठाउँमा उक्त मसिन हस्तान्तरण गरिसकिएको बैंकले जनाएको छ।


