काठमाडौँ: सोलमन प्रोडक्सनको प्रस्तुतिमा सांगीतिक चलचित्र ‘मायाको मफलर’ सार्वजनिक भएको छ। म्युजिकल फिल्मले मानवता, करुणा, स्वीकार्यता र निस्वार्थ मायाको सन्देश बोकेको भावनात्मक कथा प्रस्तुत गरेको छ।
अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको सांगीतिक चलचित्र ‘मायाको मफलर’ अशोक भुजेलको निर्देशनमा तयार गरिएको हो। यस म्युजिकल फिल्मको कथा मनिता सुन्दास र विनायक पन्तले संयुक्त रूपमा लेखेका हुन्। भिडियोको छायांकन नवीन गुरुङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन बुमा खत्रीले गरेका छन्। कार्यकारी निर्माता आर्चर पन्त रहेका छन्।
निर्माण टोलीका अनुसार ‘मायाको मफलर’ ठूलो घटनाभन्दा पनि साना–साना मानवीय व्यवहार र निस्वार्थ मायाले जीवनमा पार्ने गहिरो प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। भिडियोले हरेक व्यक्ति बाहिरी रूप, अवस्था वा परिस्थितिभन्दा पर सम्मान, माया र अपनत्वको हकदार हुने सन्देश दिन खोजेको छ।
निर्देशक भुजेलले ‘मायाको मफलर’ हरेक मानिस सम्मान, माया र बुझाइको योग्य हुन्छ भन्ने सरल विश्वासबाट सिर्जना गरिएको बताए। उनले यस यात्रालाई सफल बनाउन साथ, समय, मेहनत र विश्वास दिने सम्पूर्ण कलाकार, प्राविधिक टोली, प्रायोजक, सहयोगी, परिवार तथा साथीहरूप्रति आभार व्यक्त गर्दै स्वतन्त्र नेपाली कथावाचनलाई माया र समर्थन गर्ने दर्शकहरूलाई धन्यवाद दिएका छन्।
भिडियोमा विशेष उपस्थितिका रूपमा रोशनी कार्की रहेकी छन्। कलाकारहरूमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावरा रहेका छन्।
भिडियोका सहनिर्देशक मनिता सुन्दास, एसी सम्राट भण्डारी, सहायक निर्देशक श्रीजना भुजेल, मेकअप तथा एसएफएक्स रबिन तामाङ, हेयर डिपेश चौधरी, कानुनी सल्लाहकार किरण ओली तथा मिडिया संयोजक विशाल प्याकुरेल रहेका छन्।
गीतको संगीत संयोजन एसके बच्चाले गरेका छन्। रेकर्डिङ तथा मिक्सिङ कुमार केसीले फिल स्टुडियोमा गरेका हुन्।


