काठमाडौँ- नेपाल, लाओस र भुटान सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कपको कुल लागत एक करोड ७७ लाख ६८ हजार हुने अनुमान गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले एन्फाले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराउँदै लागत अनुमान सार्वजनिक गरेको हो।
चैत ८ देखि १७ गतेसम्म हुन लागेको प्रतियोगिताका लागि दुई प्रकारका टिकट बिक्रीमा राखिने छन्। साधारण प्याराफिटतर्फ रु ५ सय र भीआईपितर्फ एक हजार रुपैयाँ पर्ने टिकट किन्न पर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको हो।
प्रतियोगिताको उपाधि जित्ने टिमले ५ हजार डलर पुरस्कार पाउने छ। नेपाल, लाओस र भुटानबीच हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन शैलीमा हुने र शीर्ष दुई टिमबीच फाइनल खेल हुने आयोजकले जानकारी दिइएको छ।
एन्फाले एमडीएसी स्पोर्टससँग २० लाखमा प्रतियोगिता ब्रोडकास्टिङ र मार्केटिङ राइट बेचेको छ। यसअघि ३० लाख र ५० लाखमा बेचेको राइट अहिले सस्तो मूल्यमा बेचेको कारण एन्फाको आलोचना पनि भएको छ।
एन्फाको निर्वाचनपछि व्यावसायिकता भित्र्याउने उद्देश्य राखेको समितिले अहिले धमाधम सस्तो मूल्यमा राइट बेचिरहेको छ भने एन्फामा सबै कुराको ब्रान्ड भ्यालु घटेको छ।
किन यस्तो भइरहेको छ त? वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काका अनुसार विश्वभर आर्थिक मन्दीको असर परेकाले एन्फामा पनि त्यो देखिएको हो। ‘हामी दौडिरहेका छौं। लागिरहेका छौं। माग्न त पाइयो नि जति पनि। तर आउने रकम नै कम भयो,’ उनले भने।
एन्फाले मार्केटिङ र ब्रोडकास्टिङ राइट बेचेको छ भने टिकेट काम भने आफैं गर्ने भएको छ। उसले टिकेटको लागि पार्टनर मात्र राखेको जानकारी दिएको छ।
यता, प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघिसम्म एन्फाले राष्ट्रिय फुटबल टिमको प्रारमिभक टिम पनि घोषणा गर्न सकेको छैन। तर जानकारी अनुसार प्रशिक्षक भिन्सेन्जो अर्बाटो एनेसले स्क्वाडमा (२३ जनामा) खेलाडी बोलाएका छन्। उनले प्रिलिमिनरी स्क्वाड घोषणा नगरिकनै टिमका खेलाडी मात्र लिएका हुन्।
एन्फाले पछिल्लो थ्री नेसन्स कपमा एक करोड मात्र खर्च गरेको भए पनि यो प्रतियोगिताको बजेट ७७ प्रतिशतले बढेको छ।
एन्फाको ब्रान्ड भ्यालु घटेको र सस्तैमा राइटहरु बेचेपनि लागत रकम भने बढाएको छ।
यसो गर्नाले प्रतियोगिता नाफमा जान्छ त? खड्का भन्छन्, ‘५० हजार पैसा फिफाबाट आउँछ। त्यो पैसाबाट हामीले कभर गर्न सकिन्छ।’ फिफाको पैसाबाट प्रतियोगिता हुने भए पनि फाइनल खेल भने फिफाको रेकर्डमा रहने छैन। फिफा विन्डोमा एक टिमले दुई वटा मात्र मैत्रीपूर्ण खेल खेल्न पाउँछ।
तर यो प्रतियोगिताको फाइनलसम्ममा तीन खेल हुनेछन्। त्यसैले नेपाल फाइलमा पुगे त्यो खेल रेङ्किङमा गणना हुने छैन। यदि कुनै खेलाडीले फाइनलमा गोल गरे भने उनीहरुको त्यो गोल अन्तराष्ट्रिय गोलमा गनिने छैन।
यता नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भए पनि प्रशिक्षक भिन्सेन्सोले श्रम स्वीकृति भने लिइसकेका छैनन्। खड्काले भने, ‘प्रशिक्षक आइसकको छ वर्क पर्मिट छैन। तर हामीले सदस्य सचिवलाई यसबारेमा भनेका छौं। सायद चाँडै हुन्छ।’
नयाँ नियम अनुसार परिषद्मा श्रम स्वीकृतिको नियममा जटिलता आएको र स्विकृति लिने अन्तिम स्टेजमा रहेको बताएका छन्।
‘फाइनलमा एक धेरै सब हुन्छ। फाइनलमा गरेको गोल पनि काउन्ट हुँदैन,’ प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले भने।
यता श्रम स्विकृति नलिए पनि अमेरिकी नागरिक प्रदीप हुमागाईं प्रशिक्षकको रुपमा काम गरिरहेका छन्।
तर उनी एन्फामा अफिसियलको रुपमा दर्ता भएर प्रशिक्षकको काम गरिरहेको एन्फाले जानकारी दिएको छ।
‘उहाँ अफिसियलको रुपमा दर्तामा हुनुहुन्छ,’ निर्देशक मिश्रले भने। तर उनले लिग अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा आफूलाई मुख्य प्रशिक्षकका रुपमा चिनाउँदै लिगमा प्रशिक्षण आफैंले गर्ने बताएका थिए। यता उनले भोलेन्टियरिङ गरिरहेको एन्फाले दाबी गरेको छ।


