यदि तपाईं अमेरिकाको ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) लिने तयारीमा हुनुहुन्छ भने अब तपाईंको खल्ती अलि बढी नै रित्तिने भएको छ। ट्रम्प प्रशासनले विदेशबाट ग्रीन कार्डका लागि आवेदन दिनेहरूका लागि एउटा नयाँ र कडा नियम ल्याउने तयारी गरिरहेको छ।
अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल का अनुसार, अब आवेदकहरूले अमेरिकाको ग्रीन कार्डका लागि आवेदन दिन झण्डै १ लाख अमेरिकी डलर (करिब १ करोड ३५ लाख नेपाली रुपैयाँ) सम्म धरौटी जम्मा गर्नुपर्ने हुनसक्छ।
अमेरिकी राज्य विभागमा यसबारे अहिले गम्भीर छलफल भइरहेको छ। यो नियमको मुख्य उद्देश्य भनेको अमेरिका आउने नयाँ मानिसहरू आर्थिक रूपमा सक्षम छन् र उनीहरू सरकारमाथि बोझ बन्दैनन् भन्ने सुनिश्चित गर्नु हो।
यो नियम खासगरी विदेशमा रहेका अमेरिकी दूतावासहरूबाट इमिग्रेन्ट भिसा (जसले अमेरिका पुग्ने बित्तिकै ग्रीन कार्ड पाउँछन्) आवेदन दिनेहरूका लागि हुनेछ। छलफलमा १ लाख डलरको कुरा आए पनि, आवेदकको अवस्था हेरेर यो रकम कम वा बढी हुनसक्ने बताइएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यो धरौटीबापत राखेको पैसा तुरुन्तै फिर्ता पाइने छैन। तपाईं अमेरिका गएर त्यहाँको नागरिक बनेपछि मात्र यो पैसा फिर्ता पाउनुहुनेछ। नागरिक बन्न सामान्यतया कम्तीमा ५ वर्ष लाग्छ।
विशेष गरी रोजगारीका आधारमा अमेरिका जान चाहने र ग्रीन कार्डको पर्खाइमा रहेका दक्षिण एसियालीहरू (नेपाली र भारतीय) का लागि यो ठूलो टाउको दुखाइ बन्न सक्छ। लामो समय लाइनमा बसेर अन्तिम प्रक्रियाका लागि आफ्नो देश फर्किनुपर्ने आवेदकहरूलाई एकै पटक १ करोडभन्दा बढी रकम जोहो गर्न निकै कठिन हुने देखिन्छ।
ट्रम्प प्रशासनले अमेरिका फस्ट (पहिले अमेरिका) भन्ने नीतिअन्तर्गत कानुनी रूपमा अमेरिका आउन चाहनेहरूका लागि पनि बाटो साँघुरो बनाउँदै लगेको छ। धरौटीका साथै अन्य केही नियमहरू पनि परिवर्तन हुँदैछन्। अमेरिकी नागरिक बन्नका लागि दिइने निवेदन (एन–४०० फारम) को शुल्क ७६० डलरबाट बढाएर १,३३० डलर पुर्याउने प्रस्ताव गरिएको छ।
न्यून आय भएकाहरूले पाउँदै आएको शुल्क मिनाहा वा छुटको सुविधा पनि अब हट्न सक्छ। कतिपय अस्थायी भिसामा अमेरिकामा रहेकाहरूलाई ग्रीन कार्डको प्रक्रिया पूरा गर्न अनिवार्य रूपमा आफ्नै देश फर्किनुपर्ने नियम पनि कडा पारिँदैछ।


