काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले घटनालाई व्यक्तिगत घटनाका रूपमा मात्र नहेरी वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, मानसिक स्वास्थ्य र श्रम अधिकारसँग जोडिएको गम्भीर विषयका रूपमा लिन आग्रह गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भए जिम्मेवार व्यक्ति वा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ।
विज्ञप्तिमा घटनाको वास्तविक कारण, कार्यस्थलको वातावरण र सम्बन्धित पक्षको भूमिकाबारे अनुसन्धान जारी रहेकाले अनुमानका आधारमा निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै तथ्यमा आधारित छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिएको छ।
संघले पछिल्लो समय बैंक, वित्तीय संस्था, बीमा तथा पुँजीबजार क्षेत्रमा कर्मचारीमाथि बढ्दो कार्यबोझ, अस्वाभाविक कार्यघण्टा, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति र मानसिक स्वास्थ्यप्रतिको संस्थागत बेवास्ता गम्भीर चिन्ताको विषय बनेको जनाएको छ।
यस्ता अवस्थाले कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक जीवन, पेशागत आत्मविश्वास र कार्यक्षमतामा प्रतिकूल असर परेको भन्दै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत नियामक निकायलाई कार्यस्थलको वातावरण, कार्यदबाब र श्रम अधिकारबारे अध्ययन गरी सुधारात्मक मापदण्ड लागू गर्न संघले आग्रह गरेको छ।
त्यस्तै, वित्तीय क्षेत्रका रोजगारदातालाई कर्मचारीको मानसिक स्वास्थ्य संरक्षण, मनोसामाजिक परामर्श, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्यस्थल सुनिश्चित गर्ने नीति तत्काल कार्यान्वयन गर्न पनि फियनले आग्रह गरेको छ।


