काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी युद्धहरूलाई केन्द्रमा राखेर सञ्चालन हुनेछन्।
इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको वार्ता इरानसँगको बढ्दो तनाव, लेबनानसँगको वार्ताको प्रगति र अब्राहम एकड्र्सलाई विस्तार गर्ने प्रयासमा केन्द्रित रहनेछ।
वासिङ्टन ओर्लनुअघि नेतान्याहुले इरानबाट आउने खतराहरूलाई सम्बोधन गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन्। ट्रम्पले इरानको विषयमा आफू र नेतान्याहुबीच केही साना मतभेद भए तापनि धेरैजसो मुद्दामा एकमत रहेको उल्लेख गरेका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि यी दुई नेताबीच हुन लागेको यो आठौं भेट हो, जसले वासिङ्टन र जेरुसेलमबीचको गहिरो समन्वयलाई झल्काउँछ।
यसैगरी, राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच हुने वार्तामा रुस–युक्रेन युद्ध अन्त्य गर्ने शान्ति प्रक्रियाबारे छलफल हुनेछ। ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई बताएअनुसार ट्रम्प प्रशासनले अब युद्ध अन्त्य गर्ने समय आएको निष्कर्ष निकालेको छ।
वार्ताका क्रममा जेलेन्स्कीले रुसले इरानलाई अमेरिकी सैन्य आधार शिविरहरूको जासुसी सूचना दिएको भनी लगाएको आरोपका विषयमा पनि कुराकानी हुनेछ। ट्रम्पले यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रश्न गर्ने बताएका छन, यद्यपि उनले रुसले त्यस्तो सूचना दिएको कुरामा आफूलाई विश्वास नभएको टिप्पणी गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले हालै रुसले उत्तर कोरियाबाट ३०,००० सैनिकहरू मगाएर आफ्नो सैन्य शक्ति सुदृढ गर्न लागेको खुलासा समेत गरेका छन्। ट्रम्पले भने इरानले रुसको सहयोग पाए पनि अमेरिकाको दबाबका कारण इरान कमजोर बनिरहेको दाबी गरेका छन्।
ह्वाइट हाउसमा हुने यी महत्त्वपूर्ण भेटघाटहरू सम्पन्न भएपछि दुवै विदेशी नेताहरू वासिङ्टनमा आयोजना हुने दिवङ्गत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुने कार्यक्रम समेत रहेको छ।


