काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेका बेला नेपालमा भने बढेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ४.३३ प्रतिशत घटेर ब्यारेलको ८३.६० डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
अमेरिका र इरानबीच द्धन्द्ध पुनः सुरु भएपछि अघिल्लो साता कच्चा तेलको भाउ बढेर ब्यारेलको १०० डलर माथि पुगेको थियो। तर, द्धन्द्ध कम भएपछि तेलको भाउ घट्न थालेको हो।
यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा प्रतिलिटर ३, डिजेल र मट्टितेलमा ५ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँ मूल्यवृद्धि भएको निगमले जनाएको छ।
निगमकाअनुसार पेट्रोल र डिजेलको काठमाडौं, पोखरा र दिपायलमा २००, सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम हुने भएको छ। त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७.५० रुपैयाँ कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ। हाल बजारमा ग्यासको अभाव भएको छ। ग्यास लिनलाई लाइन बस्नु पर्ने अवस्था आएको छ।


